जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १५:३६

स्वदेश फर्कने बेला बिनाअपराध विमानस्थलबाटै जेल पुगे एनआरएनए नेताको होटलमा कार्यरत नेपाली कामदार


कतार, कात्तिक ३० । स्वदेश फर्कने उत्साहका साथ बिमानस्थल पुगेका तीन जना नेपाली कामदार बिना अपराध बिमानस्थलबाट जेल पुग्नु परेको छ । कात्तिक २३ गते बिहान नेपाल फर्कने उत्साहका साथ कतार बिमानस्थल पुग्दा नेपाली कामदार साना महर्जन, निरुता विश्वकर्मा र रेश्मा राई अपराधबिनै जेल पुग्नुपरेको हो ।

घटना बिवरणअनुसार तीनै जना नेपाली कामदार कात्तिक २२ गते राति १२ बजे कतारको हमाद विमानस्थल पुगे । भोलिपल्ट बिहान ३ बजे नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कने टिकट थियो । तर, अध्यागमन डेस्क पुग्दा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर एउटा कोठामा लगेर राख्यो । ‘हामीलाई किन रोकेको हो ?’ सानाले प्रहरीलाई अंग्रेजीमा प्रश्न गर्नुभयो तर प्रहरीले कुनै जवाफ दिएनन । कोठाभित्र थुनेर प्रहरी फर्किए । आफूहरुलाई पक्राउ परेको बिषयमा जानकारी दिन एसियना रेस्टुरेन्टका सञ्चालक रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक प्रवीण गुरुङलाई सम्पर्कको प्रयास गरे । तर फोन उठेन । गुरुङले एसियनलाई वेस्ट वेर्स्टन पल्स दोहा होटलको आउटलेटको रुपमा चलाउनु भएको छ । निरुता र साना रेश्मा त्यँही काम गर्नुहुन्थ्यो ।

नेपाल फर्कने समय गुज्रेपछि बिहान ६ बजेतिर पीडित तीनैजनाले कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजलाई आफूहरुलाई विमानस्थलमा नियन्त्रणमा राखिएको जानकारी गराउनु भयो । भारद्वाजले तत्कालै प्रवीणलाई सम्पर्क गरे पनि फोन उठेन । यहीबीच तीनै जनालाई बिहान ८ बजे विमानस्थलको थुनुवा कोठाबाट सीआईडीले आप्रवासी श्रमिकलाई डिपोर्ट गर्नका लागि बनाइएको खोज तथा अनुसन्धान विभागको ‘डिपोर्टेसन सेन्टर’मा लगेर राखे । त्यहा भित्र हालेपछि मात्रै आफूहरुलाई जेलमा ल्याइएको जानकारी पाए । तीनै जनामाथि कम्पनीबाट भागेको अभियोग लगाइएको जानकारी पनि पाए ।

अपराध नगरे पनि जेलमा चार रात बिताउन बाध्य हुनुपर्यो तीनै जना । रेस्टुरेन्टका सञ्चालक गुरुङले होटलले उनीहरू भागेको भनेर प्रहरीमा निवेदन दिएको कुरा आफूहरूलाई जानकारी नभएकाले यस्तो अवस्था निम्तिएको बताउनु भयो । ‘उहाँहरू मेरोमा काम गर्ने भए पनि भिसा होटलले दिएको थियो । होटलको केही निश्चित नियम हुन्छ । त्यो उहाँहरूले तोड्नुभयो, केही दिन हाम्रो सम्पर्कबाहिर भएको जानकारी मेरो म्यानेजरले होटललाई गराएको रहेछ । होटलले भागेको भनेर प्रहरीमा उजुरी दिएको कुरा हामीलाई थाहा थिएन,’ गुरुङले भन्नुभयो । नेपाली दूतावासले जेल प्रशासनसँग पहल गरेपछि जेलमुक्त भई तीनै जना कामदार २७ गते बिहान काठमाडौं पुग्नुभएको छ ।