जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १५:१६

निःशुल्क पीसीआर परीक्षणका लागि पुनः स्वाब संकलन थाल्दै काठमाडौं महानगरपालिका


काठमाडौं, मंसिर ६

काठमाडौं महानगरपालिकाले भोलिदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

आज राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलीदेखि पुनः स्वाब संकलन कार्य सूचारु गर्न लागिएको बताउनुभएको हो। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको पनि उहाँले सुनाउनुभयो । महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गर्नुभयो ।

यस्तै उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको पनि उहाँले बताउनुभयो । अहिले बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने पनि मेयर शाक्यले बताउनुभयो ।