जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १४:३१

वाह ! घट्यो आयात, बढ्यो निर्यात


काठमाडौं, मंसिर ७ । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म) को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ । भन्सार बिभागका अनुसार यस अवधिमा बस्तु निर्यात पनि १० प्रतिशतले नै बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो चार महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको आयात भएको थियो । यसैगरी यस अवधिमा ४० अर्ब २० करोड रूपैयाँको वस्तु नेपालबाट बाहिर निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कूल ३६ अर्ब २७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको बिभागको तथ्यांकले देखाउँछ ।

वस्तु आयात १० प्रतिशतले घटे पनि राजस्व संकलन भने गत वर्षको यही अवधिको तुलनामा ०.५८ प्रतिशत मात्रै कम रहेको छ । गत वर्ष पहिलो ४ महिनामा १ खर्ब २२ अर्ब ९७ करोड रूपैयाँ राजस्व भन्सार संकलन भएकोमा यो वर्ष १ खर्ब २२ अर्ब २५ करोड रूपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

कात्तिकमा २४ प्रतिशत बढ्यो राजस्व

भन्सार विभागका अनुसार चौमासिक तुलना गर्दा गत वर्षको भन्दा यस वर्ष केही राजस्व कम उठे पनि कात्तिक महिनाको मात्रै तथ्यांक हेर्दा राजस्व ह्वात्तै बढेको छ । यस वर्षको कात्तिकमा दैनिक १ अर्ब रूपैयाँभन्दा धेरै राजस्व भन्सारबाट संकलन भएको छ ।  विभागका अनुसार यस बर्षको कात्तिक महिनामा ३६ अर्ब ४६ करोड रूपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको कात्तिकमा २९ अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको कात्तिको तुलनामा यो वर्षको कात्तिकमा २४.२ प्रतिशतले भन्सार राजस्व बढेको हो ।

त्यसैगरी यो वर्ष १ खर्ब १० अर्ब रूपैयाँको वस्तु कात्तिकमा आयात भएको छ । जुन गत वर्षको भन्दा ४.४५ प्रतिशतले मात्रै थोरै हो । कात्तिकमा ९ अर्ब १५ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा २.३ प्रतिशतले धेरै रहेको बिभागले जनाएको छ ।