जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ११:५३

पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भए प्रधानमन्त्री : सशस्त्र प्रहरी अधिकृतको अनुशासनहीन काम सम्झदै गराए सचेत


काठमाडौं, असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो पटक नेपाल प्रहरीको कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री भएपछि शाह पहिलो पटक सोमवार प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको दीक्षान्त समारोहमा सहभागी हुनुभएको हो ।

महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित १–१८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जिम्मेवारी निभाउँदा अनुचित प्रभावमा नपर्न निर्देशन दिनुभयो ।

‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भन्नुभयो । आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेशामा आबद्ध गराउने अभिभावक र परिवारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले पेशागत सफलताको पहिलो मानक इमानदारिता र नैतिकता भएको बताउनु भयो । ‘जिम्मेवारीमा जबाफदेहिता महत्वपूर्ण हो,’ उहाँको भनाई थियो ।

आधारभूत तालिम पूरा गरेर कार्यक्षेत्र प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई प्रधानमन्त्री शाहले कुनै पनि दबाब र प्रभावमा नपर्न आग्रह गर्नुभयो । ‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन,’ प्रधानमन्त्रीको भनाई थियो । उहाँले संगठनको अनुशासनबिपरितका काम प्रहरी कर्मचारीबाट हुन नहुनेमा पनि जोड दिनुभयो । ‘संगठनको प्रोटोकलविपरीतको काममा संलग्न हुनुहुनेछैन भन्ने विश्वास छ ।’

प्रधानमन्त्री शाहको यो भनाई भर्खरै संगठनको प्रोटोकलबिपरित काम गरेको अभियोगमा बर्खास्तगीमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको घटनातर्फ लक्षित थियो । सोही घटना संझदै नाम नलिइकन उहाँले प्राटोकल बिपरितका काम नगर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री शाहले समयको बदलावसँगै अपराध प्रवृत्ति बदलिएको बताउँदै परिणाममुखी अनुसन्धानको लागि प्राविधिकको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानमा आवश्यक स्रोत साधन दिलाउन सरकार तत्पर छ ।’

प्रतिष्ठानका अनुसार प्रहरी निरीक्षक १–१८४ औँ समूहमा ७९ जना दीक्षित भएका छन् । ८ जना महिला र ७१ पुरुष रहेको सो समूहले ३ सय ४० दिनसम्म चलेको कठिन तालिम पूरा गरेका हुन ।

दिक्षान्त समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रहरी महानिरीगक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक नारायदत्त पौडेल लगायतका बरिष्ठ अधिकारीहरू पनि हभागी हुनुभएको थियो ।