धनगढी, असोज २६ । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
प्रदेशसभा सचिवालयले आज बिहान ८ बजेका लागि बोलाएको बैठक भोलि बिहान ९ बजेसम्मका लागि सारेको जनाएको छ।
सरकारले प्रस्तुत गरेको बजेटमा बिचौलियामार्फत कमिसनको खेल भएको भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि बढेको स्रोतले दाबी गरेको छ। केही मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ।
आजै बजेट पारित गर्ने तयारीसहित प्रदेशसभा बैठक बोलाइएको थियो। तर, सत्तारुढ दलकै सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकारलाई बजेट पारित गराउन कठिन हुने देखिएको छ। यही राजनीतिक अन्योलका कारण बैठक स्थगित गर्नुपरेको स्रोतको भनाइ छ।
बजेट निर्माण प्रक्रियालाई लिएर अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थसचिव राजेन्द्र हमालमाथि एकलौटी निर्णय गरेको आरोपसमेत लागेको छ। पर्याप्त छलफल र परामर्शबिना सीमित व्यक्तिले बजेट निर्माणमा निर्णय गरेको भन्दै सत्तारुढ पक्षकै सांसदहरू असन्तुष्ट बनेका हुन्।
बजेट विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफलका लागि बोलाउनुभएको छ। मन्त्रीहरूसँगको छलफलमा बजेटप्रतिको असन्तुष्टि सम्बोधन गर्ने र प्रदेशसभाबाट बजेट पारित गराउने विषयमा कुराकानी हुने बताइएको छ।
सत्तारुढ दलभित्रको विवाद तत्काल समाधान नभए बजेट पारित गर्ने प्रक्रिया थप लम्बिने देखिएको छ। आफ्नै दलका सांसदहरूको असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकार बजेट पारित गराउने चुनौतीमा परेको छ।













प्रतिक्रिया दिनुहोस्