जनता टाइम्स

२६ आश्विन २०८३, सोमबार ०८:०७

बूढीगण्डकी नदीमा आएको बाढीले जनजीवन प्रभावित: २६ घर, ५ पुल र ३ हाइड्रोपावरमा क्षति, ५ जना बेपत्ता


काठमाडौं, असाेज २६ । बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको छ। नेपाल प्रहरीले अद्यावधिक गरेकाे तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा प्रभावित वा नष्ट भएका छन्। यसैगरी बाढीले ३ वटा हाइड्रोपावर आयोजनामा समेत क्षति पुर्‍याएको छ।

आवागमनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएका भौतिक संरचनाहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ। बाढीले २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बगाएको वा क्षति पुर्‍याएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ५३८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। हालसम्म ५८ जनाको सकुशल उद्धार गरिएको छ भने ५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास जारी रहेको जनाइएको छ।

आपतकालीन अवस्थामा तत्काल सहयोग पुर्‍याउनका लागि नेपाल प्रहरी तथा गोरखा जिल्ला प्रशासनले निम्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ:

  • एम्बुलेन्स: १०२
  • जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC): १२३४
  • जिल्ला प्रहरी कार्यालय, गोरखा: ९८५६०६११९०
  • जिल्ला प्रहरी कार्यालय, गोरखा प्रमुख: ९८५६०५५५५५
  • सहायक प्रमुख जिल्ला अधिकारी: ९८५६०५७७७८

स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परेमा तुरुन्तै उल्लिखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।