जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १२:५२

पार्टी केन्द्रीय कार्यालयको जानकारी बिनै प्रचण्डद्वारा दस्तावेज प्रकाशन


काठमाडौं, मंसिर १०

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै केन्द्रीय कार्यालयको जानकारी बिनै फर्जीपत्र छापेर तल्लो कमिटीमा पठाएको खुलेको छ । पार्टीको कुनै पनि आधिकारीक दस्तावेज पठाउन भने केन्द्रीय कार्यालयबाट पठाउनुपर्ने विधानमा उल्लेख छ । तर, दुवै केन्द्रीय कार्यालय सचिवलाई थाहा नै नदिएर छपाई गरेको फर्जीपत्र बाढेको खुलेको हो ।

विधानअनुसार कुनै पनि बैठकले गरेका निर्णयहरुमात्र आधिकारिक रुपमा छापेर तल्लो कमिटीमा पठाउनुपर्ने प्रावधान रहेको नेकपाका नेताहरुले बताएका छन् । ‘प्रचण्डले सनकको भरमा र पार्टीभित्र बहस गर्नु अगावै फेस सेभिङका लागि आफ्ना केही कार्यकर्तालाई बाढ्नु भएको छ’, एक नेताले भने, ‘लगाएका आरोपमा पार्टीभित्र प्रमाणित गर्न नसक्ने अवस्था आएपछि उहाँ पराजयलाई छोप्नका लागि अनैतिक कार्य गर्दै हुनुहन्छ, जुन दुखत छ ।’

यसविषयमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि असन्तुष्टि जनाईसक्नु भएको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित प्रतिवेदन लेख्न सचिवालयले अनुमति दिईसकेको अवस्थामा अर्का अध्यक्षले नै फर्जीपत्र बाँड्दै हिड्नु पार्टी फुटको घोषणा भएको कतिपयको भनाई छ ।

पूर्वमाओवादी नेता रहनु भएका नेकपा नेता हरिबोल गजुरेलले प्रचण्डले सो किताब तल्लो कमिटीमा पठाएर गल्ती गरेको टिप्पणी गर्नुभएको छ । ‘सचिवालयमा विचाराधीन रहेको विषयलाई एकलौटीरूपमा पुस्तकको आकार दिई तल्ला कमिटीमा पठाउनु हुँदैनथ्यो, यो गलत हो’, गजुरेलले भन्नुभयो, ‘पार्टीले व्यवस्थित तरिकाले बहसका लागि निर्णय गरेर प्रधानमन्त्रीकोसमेत जवाफ समेटेर पठाउन सकिन्थ्यो, प्रचण्डजीले अलि हतार गर्नु भयो ।’

कार्यकारी अध्यक्ष प्रचण्डले हतार गरेर पुस्तक प्रकाशन गरेर तल्ला कमिटीमा पठाउँदा पार्टीभित्र थप समस्या आउन सक्ने गजुरेलको विश्लेषण देखिएको छ । उहाले पार्टीमा महाधिवेशन अगाडी बहुमत र अल्पमतको विषयले प्रवेश नै नपाउने स्पष्ट पार्नुभयो । बहुमत र अल्पमतमा गए पार्टी विभाजन हुने स्पष्ट आधार त्यही हुने बताउनु भयो ।