जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १७:१७

पर्यटनमन्त्री योगेश भट्टराईले आफ्नै खर्चमा गरिदिए गृहजिल्लाका १६ सय ७६ नागरिकको कोरोना बिमा


काठमाडौं, मंसिर १० । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम र आफ्नो पारिश्रमिकबाट ताप्लेजुङका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले आफ्नो गृहजिल्लाका एक हजार पाँच सय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँइका अनुसार कोरोना बीमाबापत मन्त्री भट्टराईले प्राप्त गर्नुभएको एक लाख रुपैयाँ रकमबाट ताप्लेजुङ जिल्लाका तीन सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरहरुको कोरोना बीमा गरिएको छ ।

पर्यटनमन्त्री भट्टराई गत असोज ८ गते कोरोना संक्रमित हुनुभएको थियो । संक्रमणको १० दिनपछि उहाँ संक्रमणमुक्त हुनुभएको थियो । स्वकीय सचिव गुरागाँइका अनुसार मन्त्री भट्टराइले आफ्नै खर्चमा यसअघि नै ताप्लेजुङ स्थायी ठेगाना भएका एक हजार दुई सय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको छ । मन्त्री भट्टराइकै करिव ८० प्रतिशत आर्थिक सहयोगमा प्रेस संगठन नेपालले ताप्लेजुङका ५० भन्दा बढी सञ्चारकर्मीको कोरोना बीमा गरेको छ ।