जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार ०६:३८

फुटबलका ‘भगवान’ डिएयो म्याराडोना, ड्रग्सले यसरी बर्बाद बनायो जस्को करिअर


काठमाडौं, मंसिर १० । विश्व फुटबलका ‘भगवान्’ को उपमा पाएका अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा चर्चित खेलाडी डिएगो म्याराडोना भौतिक संसारबाट अस्ताउनु भएको छ । बुधबार राति हृदयाघातबाट उहाँको निधन भएको छ । ६० वर्षीय म्याराडोना लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । गत महिना मात्रै उहाँको मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।

विश्व फुटबल महासंघ (फिफा) ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छन । विश्वकपबारे कसैले चर्चा गर्दा १९८६ को विश्वकप छुटाउन सक्दैन । जसमा म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि मात्र दिलाउनुभएन, हातले गोल गरेर पनि संसारलाई चकितसमेत बनाउनु भयो । म्याराडोना आफैँले त्यस गोललाई ‘ह्यान्ड अफ गड’ को संज्ञा दिनुभएको थियो ।

क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको हातेगोल अत्यधिक चर्चित र विवादास्पद बन्यो । यही विश्वकपमा उहाँले इंग्ल्यान्डविरुद्धकै खेलमा मैदानको मध्यभागबाट ६ जना खेलाडीलाई छक्याउँदै बल लगेर उत्कृष्ट गोल गर्नुभएको थियो, जुन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट गोलका रूपमा मानिन्छ । सो विश्वकपमा म्याराडोनाले गोल्डेन बुट जित्नुभएको थियो ।

सन् १९९० मा इटालीमा भएको विश्वकपमा म्याराडोनाले अर्जेन्टिनालाई पुनः एकपटक फाइनलसम्म पुर्याउनुभयो । ब्याक टु ब्याक विश्वकपको फाइनल पुग्दा म्याराडोना नै नायक बन्नुभएको थियो । तर, फाइनलमा तत्कालीन पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदा म्याराडोनाको दोस्रोपटक विश्व च्याम्पियन हुने सपना तुहियो । त्यसपछि चोट र कोनिकका कारण म्याराडोनाले पुरानो जादुमयी खेलको लय समात्न सक्नुभएन । उहाँले १६ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दै ९१ खेलमा ३४ गोल गर्नुभएको छ ।

बोका जुनियरदेखि नेपोलीसम्मको यात्रा

अर्जेन्टिनोसको जुनियर टोलीमा छानिँदा म्याराडोना १२ वर्षका मात्रै हुनुहुन्थ्यो । १६ नम्बरको जर्सी लगाउने उहाँले पहिलो गोल माप्र्लाटेनसी क्लबविरुद्ध गर्नुभएको थियो । सन् १९७६ देखि १९८१ सम्म अर्जेन्टिनोसमा बिताउनु भएका म्याराडोनाले एक सय ६७ खेलमा एक सय १५ गोल गर्नुभएको छ । त्यसपछि उहाँ बोका जुनियरमा अनुबन्धित हुनुभएको थियो ।

बोका जुनियरबाट खेलेको पहिलो खेलमै म्याराडोनाले दुई गोल गरी सवैको नजर आफूतिर पार्न सफल हुनुभयो । उहाँले बोका जुनियरलाई प्रिमियर लिग उपाधि दिलाएपछि ध्यान युरोपको क्बलमा पर्यो । सन् १९८२ को जुनमा ७६ लाख डलरमा म्याराडोना स्पेनिस क्लब बार्सिलोनासँग आबद्ध हुनुभयो । त्यसवेला यो रकमले रेकर्ड बनाएको थियो । आबद्ध भएको दोस्रो वर्षमै उहाँले कोपा डेल रे तथा स्पेनिस सुपर कपको उपाधि जिताउनु भयो । सन् १९८३ को जुन ३० को एल क्लासिकोमा म्याराडोनाले रियल म्याड्रिडविरुद्ध गोल गरे ।

बार्सिलोनामा रहँदा नै म्याराडोना लागुऔषधका कारण बिरामी पर्नुभयो । कोकिनको कुलतमा परेका म्यारोडोना र बार्सिलोनाका निर्देशकबीच विवाद नै भयो । त्यसैको झोकमा १९८४ मा उहाँ इटालियन सिरी ए क्लब नोपोलीमा आबद्ध हुनुयभो । त्यहाँ पनि उहाँ कीर्तिमानी मूल्यमा ६९ लाख पाउन्ड लिएर अनुबन्धित हुनुभएको थियो । नेपोलीले उहाँलाई ७५ हजार समर्थकमाझ स्वागत गरेको थियो । बोका जुनियर, बार्सिलोनापछि नेपोलीसम्मको यात्रामा म्याराडोनाको करिअरले उचाइ लिइसकेको थियो । नेपोलीमा पाँच बर्ष रहँदा उहाँले दुईपटक ‘सिरी ए’को उपाधि दिलाउनुभयो । यस्तै एकपटक युईएफए कप र एकपटक कोपा इटालियाको उपाधि पनि म्याराडोनाले नेपोलीलाई दिलाउनु भएको थियो ।

ड्रग्सले बर्बाद बनायो करिअर

विश्व फुटबलका चर्चित हस्ती म्याराडोनाको सुन्दर करिअरको अन्त्य लागुऔषध र अल्कोहलका कारण भयो । फुटबल करिअरकै उत्कृष्ट लयमा छँदा उहाँले लागुऔषध सेवन सुरु गरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन । म्याराडोना सन् १९८० देखि नै ड्रग्स तथा अल्कोहलको लतमा परेको मानिन्छ । सन् १९८४ मा उहाँ इटालियन क्लब नेपोलीमा आबद्ध हुनुभयो । जहाँ कोमोरा नामको प्रतिबन्धित औषधिको लतमा फस्नुभयो । धेरैपछि म्याराडोनाले लागुऔषधका कारण करिअर नै बर्बाद भएको स्विकार गर्नुभएको थियो । सन् २०१४ मा एक अन्तर्वार्तामा म्याराडोनाले भन्नुभएको थियो, ‘मैले विपक्षीहरूलाई ठूलो मौका दिएको छु, यदि लागुऔषध तथा अल्कोहल सेवन नगरेको भए म कुन स्तरको खेलाडी हुँ भनेर कसैले पनि सोच्न सक्दैनन। अहिले मलाई पछुतो लाग्छ ।’

विशेष गरी नेपोलीका सबै समर्थकलाई थाहा थियो म्याराडोना कोकिन लतमा नराम्रोसँगै फसेको । तर, क्लबले कोकिन सेवन गरेको कुनै प्रमाण भेटाउन सकेको थिएन । सन् १९९१ मा कोकिन सेवन गरेको आरोपमै नेपोलीले म्याराडोनालाई १५ महिना प्रतिबन्ध लगायो । त्यही वर्ष अर्जेन्टिनाको राजधानीमै उहाँ एक किलो कोकिनसहित पक्राउ पर्नुभयो र १४ महिना प्रहरी हिरासतमा बस्नुपर्यो । १४ महिना जेलमा रहँदा म्याराडोना कोकिनको लतबाट बाहिरिएको विश्वास शुभचिन्तकले गरेका थिए । तर, सो लत जेल बस्दा पनि हटेन ।

सन् १९९४ मा पुनः एकपटक अर्जेन्टिनी टोलीको कप्तानी गर्दै म्याराडोनाले अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाउनुभयो । पहिलो चरणमा ग्रिसविरुद्ध आकर्षक गोल गरेपछि म्याराडोनाले खुसियाली मनाउनुभयो । विश्वकपमा आठ वर्षपछि गोल गर्दा उहाँमा खुसीको सीमा थिएन । तर, त्यो धेरै समय टिकेन । आयोजकबाट गठित एन्टिडोपिङ कमिटीले म्याराडोनाको रगत परीक्षण गर्यो । जसमा कोकिन सेवन गरेको प्रमाणित भयो । तत्कालै फिफाले १५ महिना म्याराडोनाको सबै फुटबल गतिविधिमा प्रतिबन्ध लगायो ।

अमेरिकाको विश्वकप दौरान नै म्याराडोनाको सुन्दर फुटबल करिअर समाप्त भएको मानिन्छ । १९९० देखि १९९६ सम्म उहाँको ६ पटक रगत परीक्षण हुँदा तीनपटक लागुऔषध सेवन गरेको भेटियो । सन् १९९५ मा बोका जुनियरमा आबद्ध हुनुभयो । त्यसको दुई वर्षपछि उहाँले सबै किसिमको फुटबलबाट सन्न्यास लिएको घोषणा गर्नुभयो । त्यतिखेर पनि बोका जुनियरमा उहाँ कोकिनसँगै समातिनु भएको थियो । सन् २००० मा ड्रग्स ओभर डोज हुँदा म्याराडोनालाई हर्ट एट्याक्ट भयो । त्यसको एक वर्षपछि उहाँको बाइपास सर्जरी गरिएको थियो । अत्यधिक लागुऔषध सेवन गरेकै कारण सन् २००४ मा पनि उहाँ मृत्युको मुखमा पुगेर फर्किनु भएको थियो । तर बुधवार भने उहाँले मृत्युसँग हार्नुभयो । म्याराडोनाको निधनमा अर्जेन्टिनाका राष्ट्रपति अर्बेटो फर्नान्डेजले तीन दिन राष्ट्रिय शोक मनाइने घोषणा गर्नुभएको छ ।