जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार १९:३९

प्रदेश १ मा प्रचण्ड–माधव समुहको गुट भेला : पार्टी बिभाजनकै पक्षमा गरे यस्तो निर्णय


इटहरी, मंसिर १२ । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएको बेला प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएका छन । गुट भेला र प्रशिक्षणमार्फत दुवै पक्षीय शक्ति सञ्चयमा जुट्ने क्रममा इटहरीमा कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय भेलाले अबको लडाईं वारपार गर्नुपर्ने निचोड निकालेको छ ।

इटहरीको एक होटलमा मोरङ जिल्लाभरका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भएको भेलाले अध्यक्ष ओली रहँदासम्म आफ्नो समुहले बिगतमै जस्तो सदाबहार अवसर नपाउने भएकोले ‘अव ओलीसँग अब मिलेर जान नसक्ने’ निश्कर्ष निकालेको छ । भेलामा सहभागी एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार भेलाले ओली पक्षलाई कित्ताकाट गरेर अघि बढनुपर्ने र कुनै पनि हालतमा मिलेर जान नसकिने निश्कर्ष निकालेको हो । ‘अव ओलीसँग मिलेर वा सहमति गरेर जान सकिदैन, सके बहुमत जुटाएर निकाल्ने हो, नसके पनि एकै ठाउँमा बस्न सकिदैन भन्ने हाइकमाण्डको निर्देशन आएको छ, त्यसैगरी अभियान छेडौं,’ भेलामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालको निर्देशन भन्दै सुनाइएको थियो ।

भेलामा ओली पक्षबिरुद्द पूर्वएमालेका नेताहरु निकैआक्रमक ढंगले प्रस्तुत भएका थिए । पूर्वमाओवादीका नेताले भने मिल्न सकिन्छ भने मिलाएरै लान बैठकमा सुझाव दिएका छन । ‘हामीले त मिल्न सकिनेसम्म मिलाएर जाउँ भनेर भन्यौं तर पूर्वएमालेका त पुरै आक्रमक भएर प्रस्तुत हुँदै मिल्नै नसक्ने निश्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादीका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भएपनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’

भेलाले मोरङ जिल्लाभर प्रधानमन्त्री तथा अध्यक्ष ओली पक्षीयभन्दा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेता–कार्यकर्ताको संख्यात्मक गणना समेत भएको थियो । ‘भेलामा दाहाल–नेपाल पक्षीय नेता–कार्यकर्ताको बहुमत रहेको निश्कर्ष निकाल्यौं,’ ती सदस्यले भने । भेलाले अब १३ गतेपछि प्रदेश नं. १ का मन्त्री, सभासद र स्थानीय तहका आफू निकट प्रतिनिधीको भेला तथा प्रशिक्षण तय गर्ने निर्णय गरेको छ । भेलामा सहभागी नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले जिल्ला सहइन्चार्ज महेस रेग्मी र गोपी आछामीले डाकेर गएको प्रतिक्रिया दिनुभयो । उहाँले भेलामा भएको केही कुरा खुलाउन नमिल्ने बताउनु भयो ।

‘मलाईं मेरो नेता महेस रेग्मी र गोपी आछामीले बोलाएर गएको हो । पार्टीलाई विधि र प्रक्रियागत ढंगले अघि बढाउनुपर्छ र फुटनु हुँदैन भनेर सुझाव दिए,’ उप्रेतीले भन्नुभयो । भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटी सदस्य गरी ५० जना हाराहारीको सहभागिता रहेको थियो । मोरङमा गुट भेला हुँदा अर्को ओली पक्षीयसम्म सूचना पुग्ने भयले गर्दा इटहरीमा भेला राखिएको बताइएको छ । भेला राख्ने समूहका नेता रेग्मीले भने प्रदेश कमिटीका केही साथीहरुले सहइन्चार्जसँग पार्टीको विवाद के हो ? क्लियर पार्नु पर्यो भनेर बोलाएपछि चिया गफ मात्र भएको प्रतिक्रिया दिनुभयो ।