जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १७:१५

निर्वाचन क्षेत्रका मतदातासामू झलनाथ खनालको घोषणा : ढुक्क हुनोस, नेकपा कुनै हालतमा फुटदैन


इलाम, मंसिर १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र वैचारिक लडाइँ भए पनि बिभाजन भने नहुने प्रष्ट पार्नुभएको छ ।

गृहजिल्ला इलामको आफ्नै निर्वाचन क्षेत्रस्थित माई नगरपालिकामा आज १५ शय्याको अस्पताल शिलान्यास गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता खनालले यस्तो निश्कर्ष सुनाउनु भएको हो । उहाँले नेकपा बिभाजन नहुने भन्दै बाटो बिराएको भए मूलधारमा फर्कन आग्रहपनि गर्नुभयो ।

‘नेकपा फुट्छ र खान पाइन्छ कि भन्नेहरु अहिलेबाटै रोटी बेल्न थालेका छन, तर त्यो सपना कुनै हालतमा पूरा हुँदैन, नेकपा फुटदैन,’ खनालले भन्नुभयो । उहाँले भोलि मंगलबार बस्ने पार्टी सचिवालयको बैठकले पार्टी एकतालाई अक्षुण्ण राख्ने गरी केही ठोस निर्णय गर्ने जानकारी दिनुभयो ।

सरकारले थालेको अभियान अनुसार इलामको माई नगरपालिका र सूर्योदय नगरपालिकामा बन्ने १५ शय्याको अस्पतालको शिलान्यास नेता खनालले गर्नुभएको हो । उहाँले आजै खनालले सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको टेलिफोनबाटै शिलान्यास गर्नुभएको थियो ।