जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार २०:२८

स्वास्थ्य क्षेत्रमा ओली सरकारले ल्यायो क्रान्ति : एकैदिन गरियो ३ सय बढी पालिकामा अस्पतालको शिलान्यास


काठमाडौं, मंसिर १५ । सरकारले सोमवार एकै दिन मुलुकभर ३ सय भन्दा बढी अस्पतालको सिलान्याश गरेर स्वास्थ्य क्षेत्रमा ऐतिहासिक क्रान्तिको सुरुवात गरेको छ । कोरोना कहरबीच सरकारले आज देशभरका ३ सय भन्दा बढी स्थानीय तहमा अस्पताल शिलान्यास गरेको हो ।

सरकारले आज एकै दिन तीनसय ९६ वटा अस्पताल शिलान्यास गर्ने कार्यक्रम अन्र्तगत विभिन्न जिल्लाहरुमा अस्पताल निर्माणको लागि शिलान्यास गर्ने कार्यक्रम तोकेको हो । जसमध्ये यो समाचार तयार पार्दासम्म आज तीन सय दुईवटा अस्पतालको शिलान्यास भएको तथ्यांक प्राप्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स्वास्थ्यलाई मध्यनजर गरी देशैभर अस्प्ताल बनाउने अठोटसहित यो कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको योजनाअनुसार अस्पताल नरहेका स्थानीय तहमा आज एकैपटक शिलान्यास गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल शिलान्यासको क्रममा सरकारले जनतामा अनुभुति हुने गरी काम गरेको बताउनु भयो । चितवनको भरतपुर केन्द्रीय अस्पतालमा सरुवा रोग सेवा भवनको शिलान्यास गर्दै स्वास्थ्यमन्त्री ढकालले जनताले देख्नेगरी सरकारले काम गरेको बताउनुभएको हो । यो कार्यक्रमसँगै अव देशका हरेक पालिका अस्पतालविहिन नहुने उहाँको भनाई थियो । ‘जनताको खुला आँखाले विकास देख्नेछन, हरेक पालिकामा शैय्यासहितको अस्पताल निर्माण हुनेछ,’ ढकालले भन्नुभयो ।

उहाँले आज हुन नसकेका शिलान्यास कार्यक्रमलाई मंसिर महिनाभित्रको समयसीमा उपलब्ध गराइएको जानकारी पनि दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार त्यो समयभित्र पनि अस्पताल शिालान्यास हुन नसके यो वर्ष ती अस्पताल निर्माण हुनेछैन । ‘मंसिर महिनाभित्र शिलान्यान नभए त्यहाँको बजेट निर्माण हँुदै गरेका अन्य अस्पतालमा लगाइनेछ,’ स्वास्थ्यमन्त्री ढकालले भन्नुभयो । सरकारले एकै दिन शिलान्यास गरेको अस्पतालको लागि पहाडमा नौ रोपनी र तराईका जिल्लामा कम्तीमा १४ कठ्ठा जमिनको मापदण्ड लगाएको छ । यो मापदण्डमा निर्माण गर्नुपर्नेछ ।

‘यदी जग्गा प्राप्त गर्नलाई केही जटिलता भए स्थानीय पालिकाको सिफारिसमा मन्त्रलायले समन्वय गरेर भूमि मन्त्रालयमा प्रकृया पूरा गराएर मन्त्रीपरिषदको निर्णयले समस्यालाई समाधान गर्नेछौैं,’ मन्त्री ढकालले भन्नुभयो, ‘अव हामी अलमलमा पर्ने छैनौ विकासलाई द्रुत गतिमा लैजाने छौं ।’ मन्त्री ढकालले महामारीको यो चपेटामा पनि आफ्नो आर्थिक हैसियतले जनतालाई उत्कृष्ट सेवा दिन सफल भएको तथ्य पनि राख्नुभयो । आर्थिक रुपले सम्पन्न देशहरुले पनि राम्रो सेवा दिन नसकेको अवस्थामा नेपाल जस्तो गरीव देशले राम्रो सेवा दिएर सफल भएको उहाँको भनाई छ । मन्त्री ढकालका अनुसार विश्व स्वास्थ्य संगठनले खोपको सिफारिस गर्ना साथ नेपालमा खोप ल्याएर जनतालाई दिन तयारी अवस्थामा सरकार रहेको छ ।

‘विश्वको कुनैपनि मुलुकमा खोपको सुरु हुने वितिकै नेपालमा पनि आउँछ, यसमा जनता ढुक्क भएर बस्न आग्रह गर्दछु,’ मन्त्री ढकालले भन्नुभयो । उहाँले सुरुको अवस्थामा भन्दा अहिले सरकारले धेरै प्रगति गरेको भन्दै कोभिड ल्याब अहिले विभिन्न ७६ स्थानमा स्थापना भएको र एकै दिनमा ३० हजार भन्दा धेरैलाई परीक्षण गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । मन्त्री ढकालका अनुसार हालसम्म कुल जनसंख्याको ६ प्रतिशत जनताको पिसिआर परीक्षण गरिसकिएको छ । उहाँले अहिले निर्माण हुन लागेको प्रत्येक प्रदेशमा ५० शैय्याँको अस्पतालको प्रयोगशाला टेकुको केन्द्रीय प्रयोगशाला सरह विश्वसनीय हुने जानकारी पनि दिनुभयो ।

सोमबार शिलान्यास भएको भवन निर्माणको समय सीमा एक वर्षको रहेको छ । चितवन जिल्लाको तीन स्थानीय पालिकामा आज नयाँ अस्पताल भवन निर्माणको लागि सिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाको भरतपुर अस्पतालमा ५० शैय्याको सरुवा रोग सेवा भवन निर्माण र इमरजेन्सी भवन, राप्ती नगरपालिकाको भण्डारामा ११ करोडको लगानीमा १० शैय्याको र खैरहनी नगरपालिकामा १८ करोडको लगानीमा १५ शैय्याको भवनको लागि बजेट परेको हो । भरतपुर अस्पतालमा बहुवर्षे कार्यक्रम अन्तरगत ५० शैय्याको आधुनिक प्रयोगशाला सहित सरुवा रोग भवन र र ५० शैय्याकै इमरजेन्सी भवन, राप्ती नगरपालिकामा सिलान्यास भएको छ । खैरहनी नगरपालिकामा भने जग्गाको अभावमा सोमबार सिलान्यास हुन सकेन ।