जनता टाइम्स

१६ मंसिर २०७७, मंगलवार १०:२६

पार्टी एकता बचाउन यस्तो छ शंकर पोखरेलको सुझाव


काठमाडौं, मंसिर १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकताको उपज भएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा छोटो टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले गुटगत मानसिकताले ग्रस्त भएकाहरूले पार्टीमा उत्पन्न समस्यामा एक पक्षलाइ मात्र जिम्मेवार देखेको बताउनुभएको हो । ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

कान्तिपुर टेलिभिजनको एउटा अन्तरवार्तामा नेकपाका अर्का स्थायी कमिटी सदस्य जनार्दन शर्माले मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजिनामा दिने बताइरहेको सन्दर्भमा मुख्यमन्त्री पोखरेलको यस्तो टिप्पणी गर्नुभएको हो । नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकको पूर्वसन्ध्यामा शर्माले अध्यक्ष ओलीको राजीनामा आउने अपेक्षासहितको धारणा राखेपछि पोखरेलले काउन्टर गर्नुभएको हो ।