जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १३:४६

भारतमा मसलाका दादाजी भनेर चिनिने गुलाटीको निधन


काठमाडौं, मंसिर १८

भारतको एमडीएच मसला कम्पनीका संस्थापक महाशय धर्मपाल गुलाटीको निधन भएको छ । ९७ वर्षीय गुलाटीको बिहीबार बिहान हृदयाघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी तीन सातायता अस्पतालमा उपचाररत थिए ।

एमडीएच मसलाको विज्ञापन र प्याकेटमा छापिने तस्वीरबाटै उनले आफ्नो पहिचान व्यापक बनाएका थिए । मानिसहरुले प्रेमपूर्वक ‘दादाजी’ र ‘महाशयजी’ सम्बोधन गर्ने उनी सन् १९२३ मा पाकिस्तानको पञ्जाव प्रान्तस्थित सियालकोटमा जन्मिएका थिए । पढाइमा मन नबसेपछि बीचैमा विद्यालय छाडेका उनले एकपछि अर्को काम पनि छाडेका थिए । त्यसपछि पिताको मसला व्यापारमा संलग्न भएका थिए । मसला व्यापार उनीहरुको पुस्तौनी कारोबार थियो ।

सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि सियालकोट पाकिस्तानमा पर्‍यो । उनको परिवार सबै छोडेर भारत आयो । अमृतसरको शरणार्थी शिविरमा केही दिन बसेर परिवार दिल्ली पुग्यो । सबै कुरा पाकिस्तानमा छोडेर आएको नयाँ शिराबाट काम गर्नुपर्ने थियो । साथमा भएको केही नगदमध्ये केही खर्चेर एउटा टाँगा खरीद गरी दिल्लीको सडकमा चलाउन थाले ।

तर, टाँगा चलाउने काममा उनको मन रमाएन । दुई महीनामै त्यो काम छाडे । उनको रस त कारोबारमै बसिसकेको थियो । बचेको केही रकमबाट घरैमा मसला बनाएर बिक्री गर्न थाले। उनले दिल्लीको करोलबागमा मसला पसल खोले । उनको मसलाले शुद्धताको पहिचान बनाएको थियो । यसै कारण कारोबार तीव्र रुपमा बढ्यो । सन् १९५९ मा उनले औपचारिक रुपमा मसला कम्पनी स्थापना गरे ।

कम्पनीको नाम उनले पिता चुन्नीलालकै कारोबारमा आधारित भएर राखेका थिए । उनका पिता पाकिस्तानमा ‘महशियान दी हट्टी’ (महाशयको दोकान) को नामबाट मसलाको कारोबार गर्थे । यसको संक्षिप्त रुपबाट उनले कम्पनी खडा गरे । व्यापार क्षेत्रमा गरेको योगदान वापत उनलाई सन् २०१९ मा भारत सरकारले दोस्रो उच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मान गरेको थियो ।