जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १५:१७

नेकपालाई बचाउने हो भने…


अबको निकास भनेकै पहिलो तहका नेताहरुले राजनीतिक भोक र अभिलाषाको मन तोडेर आरामको जिन्दगी जिउनुमा छ । नेकपामा प्राविधिक विषयहरु मिलाएर तोकिएकै समयमा महाधिवेशन गरेर कम्तीमा सचिवालय स्तरका नेताहरुले अवकाश लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा मात्रै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीप्रतिको जनमतलाई बचाउन सकिन्छ । कुनै बेला ३५ लाख पार्टी सदस्यता भएको इन्डोनेसियाको कम्युनिष्ट पार्टी आज गुगलमा मात्रै भेटिन्छ

स्वरुप सुयाल

दुनियाँमा बैज्ञानिक तथ्य र सत्यको जतिसुकै बदख्वाईं गरेपनि समय, इतिहास र पुस्ताले सही सबित गरिदिने नै छ । मान्छेको सीमा र कमजोरीहरु हुन सक्छन, तर हर मान्छेको सकारात्मक चिजलाई ग्रहण गर्दै कमजोरीहरु सच्याउदै अघि बढनु नै सही बाटो हो । मान्छेभित्रको गलत चिजलाई सकारात्मक चिजले जित्छ भने समाजमा त्यस्ता मान्छेलाई सही मान्छे, राम्रो मान्छे हो भनी बुझ्नुपर्छ । यही तथ्य हो, यसलाई तर्कले जित्न सकिदैन । अहिलेको यथार्थ हो, नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको युगिन राष्ट्रवादी अडान र कुशल नेतृत्वलाई तपाई हामी जोकोहीले नचाहे पनि इतिहासले सही प्रमाणीत गरिरहेको छ ।

संविधान निर्माणमा अगुवाई, नाकाबन्दीको विरोध र कुटनैतिक ढङ्गले समाधान, जातीय–क्षेत्रीय अतिवादको प्रतिवाद र राष्ट्रिय एकताको सुदृढीकरण, नेपालको राष्ट्रिय स्वाभिमानको रक्षाको नेतृत्व, तात्कालीन नेकपा एमालेलाई निर्वाचनमा सबैभन्दा ठूलो पार्टीका रुपमा कुशल नेतृत्व, पार्टी एकीकरण र दुई तिहाइ बहुमतको सरकार निर्माणलगायतको ऐतिहासिक काम ओलीको नेतृत्व र पहलकदमीले सम्भब भएको देश दुनियाँले बुझेका छन । यो तथ्इबिपरित जानेहरुलाई जनताले जवाफ दिने नै छन । अझै मदन भन्डारीले प्रतिपादन गर्नुभएको नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) को अनुयायी भएको नाताले केपी ओलीले जीवनभर समाजमा पनि र पार्टीभित्र पनि लोकतान्त्रिकरणको पैरवी गरी सवैको नजरमा सैद्धान्तिक–बैचारिक निष्ठा भएको नेता पनि सावित हुनुभएको छ ।

एमाले–माओवादी पार्टी एकतापछि मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको कामना गरिएको थियो । तर पार्टीभित्रबाटै गुटबन्दीको अवसरबादी सन्जाल निर्माण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन सहयोद्दाहरुले नै भुमिका निर्वाह गरिरहेका छन । मुल्य, मान्यता, नीति, सिद्धान्त र बिचारलाई कुनै महत्व दिएर होइन कि अवसर, पद, भागबन्डाको मुद्दाले कम्युनिष्ट आन्दोलनलाई नै रनभुल्लमा पार्नेगरी नेकपाभित्र यतिबेला महाधिवेशनअगावै पार्टी नेतृत्व परिवर्तन र चुनावअगावै सरकारको नेतृत्व परिवर्तन गर्ने जस्ता आपराधिक सोचका साथ समस्या सिर्जना गरिएको छ ।

पार्टीमा ३० वर्षे नेतृत्व गरेका नेताले मेरो कारण सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी किन छाडे ? पार्टी पटक–पटक किन विभाजित भयो ? पार्टीमा आफ्नो तजबिजका भरमा कुनै बेला कमिटी दुई अङ्कमा अनि तुरुन्तै ४ हजार सदस्यीय बनाउदा कुन सिद्धान्तअनुसार गरियो ? सङै लडेका योद्धा आरामको जिन्दगी कोही दुई छाक टार्न रोइकराइ गर्नुपर्ने अवस्थामा किन ध्यान दिन सकिएन ? भन्ने जस्ता ऐतिहासिक कमजोरीहरुबाट सच्चिन छाडेर जसरी हुन्छ, पार्टी र सरकारको नेतृत्व हत्याउने प्रपन्चमा लाग्दा राजनीति देखेर नेपाली जनसमुदाय दिक्क बन्नुपरेको छ । पार्टी एकता टुङ्गोमा नपुग्दै गुट र घेराबन्दीबाट मनोनीतहरुको टाउको गनेर मेरो बहुमत भयो भन्दै एकताको मर्म र भावनाबिपरित चरम सत्तालिप्सा पालिएको छ । जुन पार्टी एकता बिपरित कार्य हो ।

नेकपामा आजको दिनमा बिधान, बिधि, पद्धति भन्दा पनि गुटबन्दीको नजरबाट बैठक बस्ने, एजेन्डाहरु उठने गरेको छ । पछिल्लो अवस्थामा सचिवालय बैठकमा पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एउटा कम्युनिष्ट पार्टीको बैठकमा पेस गरिने प्रस्ताव भन्दा पनि आरोप र कपोकल्पित भ्रामक मिथ्याहरुको सङ्गालो दोस्रो अध्यक्षले पेश गरेपछि पार्टीको एकता, आन्दोलन र भावी राजनीति के होला भन्ने सबै कार्यकर्तामा चिन्ता र चासो छ । अहिले नेकपाको माथिल्लो नेताहरुले मेरो आफ्नो गल्ती होइन, गल्ती त अर्काकै हो भन्ने तराजु समातेर बसेका छन । यो नेकपा ओरालो लागेको दिनको एउटा पूवसंकेत हो ।

पार्टीको बैठक बिधानमै टेकेर बस्नु पर्दछ । पार्टी एकतापछि दुई अध्यक्षको सहमतिमै प्रस्ताव बन्ने र निर्णय हुने बिधानत ब्यबस्था भएपछि एउटा कोठामा पाँच जना भेला भएर आफुखुसी अराजनीतिक प्रस्ताव पेस गर्ने बिधानमा कहाँ छ ? स्पस्ट ब्यबस्था बिधानमै छ कि नेकपामा दुई अध्यक्षको सहमतिमा बैठकको एजेन्डा तयार गर्ने र महासचिवले बैठक आव्हान गर्ने । अर्कोतिर अध्यक्ष एवं प्रधानमन्त्रीले अबको नेतृत्व युवाको हातमा हुनेछ भनेर महान बिचार ब्यक्त गरिसकेपछि पनि नेकपाका युवा पुस्ता नेतृत्व लिने तयारी गरी हस्तक्षेपकारी भुमिकामा नआउनुले युवा नेताहरु सामाजिक संजाल र भाषणमा ठुला गफ दिने तर वास्तविकतामा त्यही बुढा नेताको फेरो समातेर मात्र उभिन सक्ने खालको पानीमरुवा अवस्थामा रहेछन भन्ने भान हुन्छ ।

एउटा जिवन्त कम्युनिष्ट पार्टीमा माथिदेखि तलसम्म फलामे अनुशासन हुनुपर्छ । आज नेकपाको हरेक तहमा त्यसको अभाबको कारण नेताहरुको ओज र गरिमा खुइलिदै गएको छ । एक अर्थमा भन्दा सचिवालयकै नेताहरु सवैभन्दा बढी अनुशासनहीन देखिएका छन । कमिटीमा छलफलका लागि भन्दै आरोपपत्र पेश गर्ने र तत्कालै मिडियामा सार्वजनिक गर्ने काम भइरहेको छ । त्यसकारण अव सबै अनुशासनमा बाधिने बिधि तयार गर्न ढिला भईसकेको छ । नत्र पार्टी अस्तब्यस्त र भिडतन्त्रमा जान सक्छ । एकताको महाधिवेशनबाट एकतालाई पूर्णतामा पुर्याउँदै नेतृत्व लिन जोकोहीलाई कसैले रोक्न सक्दैन । तर एकता नटुङ्गिगदै आफू अनुकुल भयो भनेर टाउको गन्ने र कू गर्न तम्सने दम्भी ब्यवहारले कसैको हित गर्दैन । लामो समयको राजनीतिक अस्थिरतापछि नेकपालाई नेपाली जनताले लगभग दुई तिहाइको जनमत दिएको यस्तै छिनाझम्टी र नेताहरुको झैझगडा देख्नलाई होइन । समृद्ध नेपाल : सुखी नेपालीको खाका कोरेर नेपाली समाजलाई अगाडि बढाउन हो । यी काम छाडेर केवल सत्ता र पदको रोइलो प्रदर्शन गर्दै बसेर नेकपाको नामना अर्को चुनाबमा जनता बिचमा मत माग्न जाने बाटो नै हुनेछैन ।

एउटा जिवन्त कम्युनिष्ट पार्टीमा माथिदेखि तलसम्म फलामे अनुशासन हुनुपर्छ । आज नेकपाको हरेक तहमा त्यसको अभाबको कारण नेताहरुको ओज र गरिमा खुइलिदै गएको छ । एक अर्थमा भन्दा सचिवालयकै नेताहरु सवैभन्दा बढी अनुशासनहीन देखिएका छन । कमिटीमा छलफलका लागि भन्दै आरोपपत्र पेश गर्ने र तत्कालै मिडियामा सार्वजनिक गर्ने काम भइरहेको छ । त्यसकारण अव सबै अनुशासनमा बाधिने बिधि तयार गर्न ढिला भईसकेको छ

अतः अबको निकास भनेकै पहिलो तहका नेताहरुले राजनीतिक भोक र अभिलाषाको मन तोडेर आरामको जिन्दगी जिउनुमा छ । नेकपामा प्राविधिक विषयहरु मिलाएर तोकिएकै समयमा महाधिवेशन गरेर कम्तीमा सचिवालय स्तरका नेताहरुले अवकाश लिएर दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा मात्रै कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीप्रतिको जनमतलाई बचाउन सकिन्छ । कुनै बेला ३५ लाख पार्टी सदस्यता भएको इन्डोनेसियाको कम्युनिष्ट पार्टी आज गुगलमा मात्रै भेटिन्छ । अझै त्यहाँ कोही इन्डोनेसियाका नागरिकले हसिया हथौडाको लाल झन्दा देखे भने च्यात्न, चिथोर्न जान्छन । दुई दशक भारतको पश्चिम बङ्गालमा शासन गरेको कम्युनिष्ट पार्टी जनताको चाहना र आवश्यकता बुझ्न नसक्दा र समय अनुकुल रुपान्तरण हुन नसक्दा चुनाब जित्नु त परैको कुरा दुई जना उम्मेदवारको पनि धरौटी बचाउन नसकिने अवस्थामा छ । यसर्थ नेपालका कम्युनिष्टहरुलाई अब मात्रै सुध्रिने अन्तिम मौका छ । अन्यथा हामीले पनि इन्डोनेसिया र पश्चिम बाङ्गगालका कमरेडहरुले झै इतिहासको उपलब्धिलाई सम्झेर दिन काटनुपर्ने स्थिति ब्यहोर्न तयार हुनुपर्छ । नेताहरुलाई समयमै चेत आवस ।

(लेखक अनेरास्ववियूका केन्द्रीय सदस्य हुनुहुन्छ ।)