जनता टाइम्स

१८ मंसिर २०७७, बिहीबार १८:००

बिमा कम्पनीमाथि अर्थमन्त्री पौडेलको एक्शन : तीन दिनभित्र कोरोना विमाको भुक्तानी दिन निर्देशन


काठमाडौं, मंसिर १८ । अर्थ मन्त्रालयद्धारा कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिन गरिएको निर्देशन कार्यान्वयन वेवास्ता भएपछि मन्त्रालयले पुनः ताकेतासहित कडा निर्देशन पठाएको छ । मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सोको जानकारी मन्त्रालयमा पठाउन चार बुँदे निर्देशन दिएको हो ।

हाल कुन–कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के–के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

मन्त्रालयद्वारा प्रेषित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’ अझै १३ हजार भन्दा धेरैको कोरोना बिमाको रकम भुक्तानी हुन बाँकी छ ।