जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार १८:१३

नेपालले पहिलो पटक जारी गर्यो एकीकृत परराष्ट्र नीति : बुद्धदेखि पृथ्वीनारायण शाहसम्मका नीति समेटियो


काठमाडौं, मंसिर २१ । नेपालले पहिलो पटक एकीकृत परराष्ट्र नीति ल्याएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गर्नुभएको हो । एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेपछि मन्त्री ज्ञवालीले लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको र यसले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने जानकारी दिनुभयो । मन्त्री ज्ञवालीका अनुसार आफ्नो मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

मन्त्री ज्ञवालीका अनुसार नयाँ परराष्ट्र नीतिमा बनाउँदा नेपालको संविधान, विभिन्न समयमा बनेका समितिले दिएका सुझाव, गत वर्ष भएको राष्ट्रिय संवाद, राजनीतिक दलका दस्तावेज, विज्ञ, अनुसन्धाताले दिएका सुझावलाई समेटिएको छ । परराष्ट्र नीतिमा गौतम बुद्ध र पृथ्वीनारायण शाहका विचारलाई समेत आत्मसात गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । ‘बुद्धले जहिले पनि शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो । बुद्धभूमि हुनुका नाताले हामी पनि संसारभर शान्ति र अहिंसाका पक्षमा वकालत गर्छौं । कहीँ विवाद भए त्यसको शान्तिपूर्ण समाधान हुनुपर्छ भन्छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले नीतिबारे प्रष्ट पार्दै भन्नुभयो, ‘त्यसैअनुरूप संसारका द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्न नेपालले संयुक्त राष्ट्रका विभिन्न शान्ति मिसनमा सहभागिता जनाउँदै आएको छ ।’

उहाँले पृथ्वीनारायण शाहले भनेको ‘नेपाल दुई ढुंगाबीचको तरूल हो’ भन्ने विचारलाई पनि परराष्ट्र नीतिको मार्गदर्शक मानिएको जानकारी दिनुभयो । ‘उहाँको पालामा भन्दा अहिले परिस्थिति बदिलएको छ । दुई ढुंगाबीचको तरूल भन्ने कुराको विभिन्न कोणबाट व्याख्या हुन सक्ला, उहाँको भनाइलाई जस्ताको त्यस्तै राख्ने भन्दा पनि अहिलेको परिवेशमा उहाँको भनाइलाई ध्यान दिनुपर्छ,’ मन्त्री ज्ञवालीको भनाई थियो । उहाँले नेपालले सधैं बहुलता, विविधता र समानता भएको विश्व हेर्न चाहेको पनि प्रष्ट पार्नुभयो । ‘विविधतामा पनि कसरी एकता हुन सक्छ भन्ने नेपाल आफैंमा एउटा उदाहरण हो, जसरी ३ करोड नेपालीमा यति धेरै भाषा, जातजाति सहअस्तित्वमा छन् त्यसरी नै संसार पनि फरक शासन प्रणाली र क्षमता भएका देशबीच सहअस्तित्वमा रहोस् भन्ने चाहन्छौं,’ ज्ञवालीले भन्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले नीतिमा पछिल्लो बदलिँदै गएको विश्व व्यवस्था, नेपालको सीमा सुरक्षाको प्रश्न, विदेश सम्बन्धमा एकीकृत राष्ट्रिय दृष्टिकोण नहुनु, अन्तर्राष्ट्रिय सहायतामा नेपालको प्राथमिकता र अपनत्वजस्ता विषय परराष्ट्र सम्बन्धका लागि चुनौतीका रूपमा औंल्याइएको जानकारी पनि दिनुभयो । ‘हामीले सार्वभौमसत्तालाई कसरी जोगाउने, बहुपक्षीय फोरमहरूमा द्वीपक्षीय डिल हावी भरहेको बेला साझा चासोलाई कसरी सम्बोधन गर्ने, अति कम विकसित मुलुकबाट माथि उठ्दा फेरि पछाडि नफर्किने गरी स्रोत साधनको विकास कसरी गर्नेजस्ता चुनौती हाम्रासामू छन्,’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘जलवायु परिवर्तनमा हामी नगरेको गल्तीको सजाय भोगिरहेका छौं । विश्वव्यापी महामारी र महाविपत्तीमा अन्तर्राष्ट्रिय सहायता कसरी जुटाउने र त्यसका लागि हाम्रो समग्र क्षमता कसरी बढाउने चुनौती पनि छन ।’

चुनौतीसँगै स्थायित्व र प्रजातान्त्रिक सरकार, सीमा रक्षालगायत विषयमा राष्ट्रिय एकता, प्रजातान्त्रिक र सामाजिक न्याय भएको मुलुकको रूपमा नेपालले बनाएको छवि, सबै मुलुकसँग सन्तुलित सम्बन्धले नेपाललाई अवसर पनि सँगै ल्याएको उहाँको भनाई थियो । मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीतिका विषय अझै पनि केहीमा पूर्वाग्रह र हिनतावोध रहेकाले त्यसलाई बदल्नु पर्ने बताउनु भयो । ‘कतिपयलाई नेपाल समान सार्वभौमिकता भएको मुलुक नभई सानो, कमजोर र पछाडि परेको मुलुक हो, त्यसैले ठूला कुरा गर्नु हुन्न सम्झौता गर्नुपर्छ भन्ने लाग्छ, अव त्यसलाई बदल्न जरूरी छ,’ परराष्ट्रमन्त्री ज्ञवालीको भनाई थियो ।

उहाँले नेपालले ‘सबैसँग मित्रता तर कसैसँग शत्रुता नगर्ने’ मन्त्र अपनाएकाले कुनै शासन प्रणाली भएको मुलुकको विषयमा कुनै अर्को अमुक मुलुकलाई जोडेर मुद्दा बनाउन नहुने बताउनुभयो । उहाँले नेपालले अहिले पनि बहुपक्षीय सहकार्य र फोरमहरूलाई नै प्राथमिकता दिने नीति लिएको जानकारी पनि दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्व मञ्चमा नेपाल अव देखिन र सुनिन थालेको भन्दै सवैसँग मित्रता, छैन कसैसँग सत्रुता’को नतीति अंगाल्ने घोषणा सरकारको नेतृत्व लिएलगत्तै गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही योजनालाई साकार रुप दिँदै परराष्ट्र मन्त्रालयले एकीकृत नीति तयार पारी सार्वजनिक गरेको हो ।