काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो।
प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले बताउनुभयो । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाउनुभएको थियो । कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने कांग्रेसको तयारी गरेको हो ।प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्