काठमाडौं, मंसिर २३
नेत्रविक्रम चन्द विप्लव समूहले मोरङ मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । तर, उसले श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ र हत्याको कारण ‘सुराकी’ भएको आरोप लगाएको छ ।
घटनाको प्रकृति हेर्दा र जिम्मा लिदा भनिएको दाबीमा कुनै मेल खादैन । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई विप्लव समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको थियो ।
उक्त समूहको मेची–कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको दाबी गरेको छ । तर, प्रत्यक्षदर्शीले भने उनलाई घरैबाट बाँधेर विप्लव समूहले लगेको बताएका थिए र विप्लव समूहका ६ जना थिए । यति संख्याको समूहसँग श्रेष्ठले कसरी प्रतिकार गर्न सके भन्ने कुरा खुलाइएको छैन ।
यस्तै, प्रतिकार गर्दा घाँटी नै रेटेर हत्या गर्नुपर्ने कारणबारे पनि केही भनिएको छैन । प्रहरीका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई हात बाँकेर धारिलो हतियारले घाँटी रेटिएको छ । श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा गरिइको छ ।













प्रतिक्रिया दिनुहोस्