जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार २०:५९

चक्रपथ विस्तारमा बुद्धको हजार मूर्ति स्तुपा यथावत रहने मन्त्री नेम्बाङ्गको घोषणा


काठमाडौं, मंसिर २३

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले काठमाडौं चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्र भित्रका बौद्धमार्गीहरुले तपस्या गर्ने भगवन बुद्धको हजार मूर्ति स्तुपा नहटाइने बताउनुभएको छ । मंगलबार स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सडक विस्तारको क्रममा कम्तिमा पनि स्वयम्भु क्षेत्रमा रहेको भगवन बुद्धको हजार मूर्ति स्तुपा जोगाउनु पर्छ भन्ने बुझाई प्रष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनु पर्छ भन्ने प्रष्ट भएको छ । प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाईने छ ।’

उहाँले सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन नयाँ चरणमा विकास गर्न लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकार नयाँ संविधानद्वारा निर्देशित छ । नयाँ मुलुक निर्माणमा अगाडि बढेको सरकार स्वभावैले मुलुुकका चौतर्फी विकास गर्न चाहन्छ । अरु चौतर्फी विकासका अलावा मुलुकको विविध धर्म, विविध समुदाय विविध, सस्कृतिको रक्षा मात्र होइन । यसको नयाँ चरणमा विकास गर्न लागि परेको छ ।’ उहाँले मुलुकको विविध संस्कृति सामाजिक सम्पती रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री नेम्वाङ्गले स्वयम्भू क्षेत्र जस्तो विश्वसम्पदा सूचिमा रहेका क्षेत्रहरुको संरक्षण मात्र होइन अझ विकास गरेर लाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताउनु भयो । उहाँले सडक विस्तार गरिंदा यसका प्राविधि पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिइने बताउनुभयो ।

समुदायको भावना र संवदेनशिलतासँग जोडिएकाले विषय भएकाले अभियानले ध्यानाकर्षण नगराउँदै पुरातत्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराई सकेको समेत उहाँले जानकारी दिनुभयो । काठमाडौं चक्रपथ सुधार आयोजना दोस्रो खण्ड कलंकीदेखि धोबिखोला ११.६ किलोमिटर साइट क्लियरेन्सको अन्तिम चरणमा रहेको छ ।