जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १२:४४

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह, मुख्यमन्त्री प्रमुख अतिथि


कास्की, मंसिर २५ । गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच बिवाहको टुंगो लागेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह तय भएको हो ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच विवाह हुन लागेको हो । उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुन लागेको हो । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री गुरुङलाई बुधबार दुवै जनाले भेटेर निम्तो दिइएको हो ।

आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले बताउनु भयो । ‘शर्मिलाजी र मबीच विवाह गर्ने विषयमा सहमति भयो, परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं,’ बेहुला बन्न लाग्नुभएका कर्णबहादुरले भन्नुभयो । कर्ण र शर्मिला दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुनुहुन्छ ।