न्यूयोर्क, मंसिर २७ । अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना भाइरसबिरुद्धको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले शुक्रबार फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो ।
अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ । यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए । पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताउनु भएका छ । ९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप निस्शुल्क रुपमा वितरण गरिने बताउनु भयो ।
यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ । बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन भने भारतमा आपतकालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको बिज्ञहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्