जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १२:४८

सहमतिपछि मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन


पर्वत, जेठ २०

प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ। चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो ।

गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनर्निर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् ।

छलफलका क्रममा स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्वविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकम आयोजनाले तत्काल दिने सहमति भएपछि काम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

आयोजनाले क्षतिपूर्तिको रकम दिन ढिलाइ गर्दा आन्दोलन भएको थियो । पीडित परिवारको घरसमेतको स्थलगत अनुगमनपछि छलफल गरेपछि काम सुरू गर्न दिने सहमति स्थानीयले जनाएका हुन् । यसैगरी क्षति पुगेका छ वटा घरधनीले भने पहिल्यैदेखि क्षतिपूर्तिको रकम बुझेको बताइएको छ । प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा रहेका छन् ।

घर पुनर्निर्माणको काम स्वयंले सुरू गर्ने र आवश्यक रकम आयोजना दिने सहमति यसअघिनै भएपनि आयोजनाले रकम दिन ढिलाइ गरेका कारण स्थानीयले पुनःआन्दोलन गरेका हुन् ।

आयोजनाको काममा आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनर्निर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तर दायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भएपनि काम नभएका कारण पुनःताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख मनोहरवी पौडेलले जानकारी दिनुभयो ।