जनता टाइम्स

१२ पुष २०७७, आईतवार ०८:२३

क्षम्य छैन माधव-प्रचण्डले देशबिरुद्ध गरेको घात


यस्ता घाम जत्तिकै छर्लङ्ग रहेका तामाम तथ्यविपरीत माधव नेपाल र प्रचण्ड समूह उल्टो ओली लक्षित अनेक मनगढन्ते आक्षेप लगाइरहेका छन । जसले महाराजलाई साष्टाङ्ग दण्डवत् गरेर मोहर चढाए, जसले राजदरवारमा प्रधानमन्त्री हुन लाम लागेर अर्जी हाले, जसले प्रतिगमन आधा सच्चियो भने उनै ओलीविरुद्ध नानाथरि भद्दा आरोप लगाइरहेका छन

प्रा.डा. बद्रीविशाल पोखरेल

जननायक बी.पी.कोइरालालाई भारतीय शासकले पटक पटक हामीले भनेअनुसार काम गर्ने हो भने प्रधानमन्त्री नै बनाइदिने भन्दा पनि कोइराला मान्नुभएको थिएन । अन्तिममा नेपाललाई सिक्कीमीकरण गर्न खोजेको थाहा पाएर उहाँ मृत्युको पनि पर्वाह नगरी मेलमिलाप नीति लिएर नेपाल फर्किनु भयो । उहाँले सत्ता, शक्ति, सरकार आदि कुनै पनि खाले निजी निकृष्ट लोभ लालचमा नपरी देशको स्वाधीनता, अखण्डता र सार्वभौमसत्तालाई सर्वोपरी राख्नुभयो । नेपाली कांग्रेस पार्टीमा बीपी कोइरालाको उक्त विरासद अझै बाँकी छ र रहनेछ भन्ने कुराका ज्वलन्त प्रमाण नेका नेता चन्द्र भण्डारी र एनपी साउदबाट अवगत भएको छ । यसमा युवा नेताहरु गगन थापा, गुरु घिमिरे, डा. डिला संग्रौला, प्रदीप पौडेल कति गम्भीर चिन्तन राख्छन, समयले बताउला ।

०३६ मा जनमत संग्रहको घोषणा गर्नु भन्दा अघि राजा वीरेन्द्र र बीपी कोइरालका बीचको गम्भीर भेटको विषयमा आधारित रहेर पत्रकार जगत नेपालको एक लेख २०७४ जेठमा कान्तिपुरमा प्रकाशित छ । त्यही लेखमा बीपी कोइरालालाई जयबागेश्वरी स्थित निवासमा गएर अमुक प्रभावशाली व्यक्तिले नेपालबाट राजतन्त्र हटाइदिन्छौँ, तपाईं पहिलो गणतान्त्रिक राष्ट्रपति बन्न तयार रहनुहोस भनिएको थियो । बीपीले यस प्रश्नको उत्तरमा यस्तो अतिगम्भीर विषयमा मैले मेरा साथीहरुसित सरसल्लाह गर्नुपर्छ र यसका लागि ४८ घण्टा समय चाहिन्छ भन्नुभएको लेखमा बताइएको छ । यस बीचमा बीपी कोइरालाले राजा वीरेन्द्रसित सोझो सम्पर्क गरेपछिको ४८ घण्टाभित्र जनमत संग्रहको आकस्मिक घोषणा भएको बताइन्छ । यसैगरी मृत्युको अन्तिम घडीमा भेटगर्न गएका वरिष्ठ वकिल गणेशराज शर्माले बीपीकै सामुन्ने उभिएर तपाईंजस्तो देशको भाग्य र भविष्यप्रति चिन्तित कुटनैतिक क्षमताको राष्ट्रवादी नेता बित्न लाग्नुभयो अब देशको के हालत होला भनी दुःखमनाउ गरेका थिए । यस सबालमा बीपीले अब जे गर्छ भारतले गर्छ भनेर सासले बोलेको उल्लेख गरिएको छ ।

त्यसैले अहिले नेपाल प्रचण्डसित के कस्तो लेनदेन सर्त राखिएको छ । यसका केही अशुभ लक्षणहरु देखापरेकै छन् । चार महिनापछि हुने पार्टी महाधिवेशनसम्म पनि पर्खने र कार्यकर्ताप्रति अविश्वास गरी केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधानविपरीत बहुमतका बलमा दुवै पदबाट हटाउने षडयन्त्रमा नेपाल प्रचण्ड ज्यान फालेर लाग्दा राजवादीहरु समेत सलबलाए, यस्ता गतिविधिका कारण जनतामा निराशा घनीभूत हुन गयो । आफ्नै सरकारले गरेका तत्कालीन, अल्पकालीन र दीर्घकालीन देश र जनहितका विकास निर्माणका कुनै पनि काम जनसमक्ष उल्लेख गर्नु भन्दा उल्टो केही पनि गरेन भनेर आम जनतामा भ्रम भुईंतहमा छरिरहे । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले माधव नेपाल र प्रचण्ड दुवै मिल्दा आफू अल्पमतमा पर्ने देखेर पनि पार्टी एकीकरण भएको देखिन्छ । ओलीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर यसको सुरक्षित भविष्य निर्माण गर्ने दूरगामी सोचलाई नितान्त पद, प्रतिष्ठा जस्ता निजी स्वार्थमा लिप्त नेपाल र प्रचण्डले बुझेनन् । उनीहरु त राष्ट्रपतिलाई समेत महाभियोग लगाएर उपराष्ट्रपतिलाई कार्यवाहक राष्ट्रपति बनाएर नेपाली सेनामाथि नियन्त्रण गर्नेसम्मको राज र रहस्य उजागर भए पनि प्रधानमन्त्रीले संविधानको धारा ८५ को १ अनुसार प्रतिनिधि सभा विघटन गर्न बाध्य भएको स्पष्ट हुन्छ ।

तर ओली जनताबाट अलोकप्रिय हुनुभयो । हामी चाहिँ जनताका बीचमा लोकप्रिय छौँ भन्न खोज्ने नेता आम निर्वाचन सुन्ने बित्तिकै तर्सिएका छन । त्यसैले बाह्य शक्तिका इसारामा प्राप्त उपलब्धिलाई क्षतविक्षत पारी देशलाई अस्थिरताको दलदलमा पार्न खोज्ने नियतका कारण संसद् विघटन गर्नुपरेको तथ्यहरुले बताउँछन् । तसर्थ बीपीको विरासद् बहन गर्ने नेपाली काङ्ग्रेस अहिलेको सबालमा बहुतै होसियार भएर चल्नु पर्ने देखिन्छ । आखिर कम्युनिष्ट र कांग्रेस नै यस मुलुकका दुई स्थायी राजनीतिक शक्ति रहेछन । कतिपय कमी कमजोरीका अतिरिक्त नेपाली कांग्रेस नेपालको राजनीतिक आन्दोलनको आफ्नै गौरवशाली इतिहास रहेको छ । प्रतिपक्षी पार्टीका नाताले सरकारका कामहरुमा उसको आलोचना वा कटु आलोचना हुन्छ र हुनु पनि पर्छ तर यस पार्टीले आफ्नै बलबुतामा अगुवाइमा रचनात्मक आन्दोलन गर्नु जाती हुन्छ ।

अरुहरुको भर पर्दा समस्या जटिल हुन पनि सक्छ । त्यसैले अहिले संसद् विघटन विषयका मुद्दामा पार्टीले गर्ने विरोधको निर्णय मौलिक लाग्छ । नेका पार्टीले पुराना गाथा र गौरवमा मात्र रमाएर हुँदैन, पार्टीलाई सबै हिसावले चुस्त र दुरुस्त बनाउनु पर्छ । कम्तीमा समय अनुकूल आफूलाई देश र जनताको हितमा सबल रुपमा उभ्याउनु पनि पर्छ । इतिहास निर्माण गर्दै शक्ति सञ्चय गर्दै अघि बढ्नु जाती हुन्छ । भोलिको सम्भावित सरकारको नेतृत्व गर्ने औकात बृद्धि गर्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्ष सही, सबल हुँदा मात्र देशले सही दिशा लिन सक्छ । नेकपा नामका पार्टी भित्रैका धन्धुकारी जुन पार्टीमा भए पनि त्यसले देर सबेर देशलाई अस्थिरताको दलदलमा फसाउँदै आखिरमा विघटन उन्मुख गराउने खतरा हुन्छ ।

रवर्ट डी कप्लानले आफ्नो रिवेन्ज अफ द जोग्राफी नामको कृतिमा …नेपालले आफ्नो शासकीय क्षमता बढाउन सकेन भने सत्तरीको दशकसम्म नेपाल क्रमशः विघटन हुनपुग्छ भनेका छन् । कप्लानले भनेको शासकीय क्षमताको अर्र्थ नेपालको सरकार, सरकार प्रमुखले देश र जनताको हितमा बाह्य दवाव र प्रभावमा नपरी काम गर्नु हो । तर फिजी भन्ने देशमा जस्तै नेपालमा भारतीय मूलका अङ्गीकृत नागरिकलाई संविधानमा नै जन्मसिद्ध नागरिक सरह अधिकार दिलाउन भारतीय शासक चाहिरहेको देखिन्छ । फिजी भन्ने देशमा भारतीय मूलका व्यक्ति महेन्द्र चौधरी प्रधानमन्त्री बन्न र बनाउन भारत सफल भएजस्तै नेपालमा पनि भारतीय एकलौटी वैधानिक कब्जा कायम गरी देशलाई फिजीकरण गर्ने कपटपूर्ण चाहना आफ्ना अनुकूलको प्रधानमन्त्री बनाउन चाहेको स्पष्ट हुन्छ ।

नेपालको शासकीय क्षमता सबल बन्दै जाँदा देश वैदेशिक स्वार्थको क्रिडास्थल बन्न सक्ने अवस्था हुँदैनथ्यो तर माधव नेपाल समूह बर्दीबिनाका साइवार सेना सरह सरकारविरुद्ध सुरुदेखि दुष्प्रचार लागेकै थिए । पछि उनीहरु ओली विरुद्ध शत्रुवत् आक्रमण गर्न निर्वस्त्र रुपमा ओर्लिए । तर पनि जहाँजहाँ, जुनजुन स्थान, क्षेत्र र तहमा सरकारको जन सेवा तथा राहतमूलक उपस्थिति रहेको छ, तीती ठाउँमा आम जनताले यस्तो अराजक समूहलाई किमार्थ मन पराउँने छैन । प्रा.डा. गणेशप्रसाद क्षेत्रीले आफ्नो भारतको नेपाल नीति एक शल्यक्रिया शीर्षक कृतिमा सविस्तार उल्लेख गर्नुभएको छ । क्षेत्रीका अनुसार भारतले नेपाललाई फिजीकरण गर्ने कुनियत राखेर आफ्ना सारा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनु भएको छ । यसका लागि नेपालको पानी धमिलो बनाउन भारत उपर्युक्त नेकपाकाद्वय नेतामार्फत काम गरिरहेको स्पष्ट हुन्छ । अझ यसमा पनि माधव नेपालले प्रचण्डलाई अघि सारेर ऐन मौकामा आफ्नो चाहिँ टाउको जागाउने दाउ गरेको यस बीचका संदिग्ध घटनाहरुबाट स्पष्ट हुन्छ ।

सन् २०१६ को फेब्रुवरीमा भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको २५ बुँदे विज्ञप्तिको १० नं बुँदामा नेपालको संविधान अपूरो छ भनिएको छ र यसका लागि संविधान संशोधन प्रक्रिया अपरिहार्य छ भन्ने खुलस्त हुन्छ । अघिल्लो पटक आफ्नो पार्टी सम्मिलित ओली सरकारलाई छापामार शैलीमा गिराउनुको एउटै मूलभूत अर्थ नागरिकता प्रकरणमा भारतीय स्वार्थअनुसार चल्न खोज्ने नियत हो । नेपालको संविधानमा संशोधन गरेर भारतीय मूलका मानिसहरुलाई जन्मसिद्ध नागरिकता दिलाएर उनीहरुलाई फिजी देशमा झैँ नेपालको राष्ट्रपति, प्रधानमन्त्री, प्रधान सेनापति जस्ता राज्यको संवैधानिक निकायको उपल्लो जिम्मेवारी पाउने स्वर्ण अवसर प्रदान गर्नु हो ।

डा. क्षेत्रीका अनुसार भारतीय प्रधानमन्त्री जबाहरलाल नेहरुको डक्ट्रिनलाई मूर्तरुप दिन नेपाललाई सके सिक्किम नसके फिजीकरणको शैलीबाट भारतीय छहारी मुनि ओत लाग्न बाध्य बनाउन चाहेको छ । तर फिजीकरण सबैभन्दा सहज र वैधानिक बाटो हुने ठहर हुनसक्छ । किनभने अन्य उपाय अपनाउँदा चीन उग्र भएर उल्टो आइलाग्ने भय देखिन्छ । जवाहरलाल विश्वविद्यालय, भारतका प्राध्यापक एस.डी. मुनिले नेपालको एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा राजाले भारतको हित विपरीत काम गरेको हुनाले हट्नुपरेको तथा अब उप्रान्त पनि कसैले भारतीय हितविपरीत गरेमा उसको पनि ठीक यस्तै हविगत हुने चेतावनी दिएको डा. क्षेत्री बताउनुहुन्छ । पृ.५२ , । भरतीय शासकका उपर्युक्त खालका तमाम गतिविधिका भुक्तभोगी जननायक बीपी कोइराला पनि हुनुहुन्थ्यो । उहाँले आत्म वृत्तान्तमा भारतीय शासकले नेपालको अखण्ड, स्वाधीन, सार्वभौम र स्वतन्त्र अस्तित्वलाई खण्डित गर्न चाहेको कुरा उजागर गर्नु भएको छ ।

नाकाबन्दीविरुद्ध चट्टानी अडान लिनु, संविधान निर्माण र यसलाई लागू गर्ने सबालमा स्वविवेकको प्रयोग गर्नु, चीनसित वाणिज्य तथा पारवहन सम्झौता गर्नु र नेपाल विखण्डनका अनेक प्रपञ्चहरुलाई परास्त गर्नु विकासका अल्पकालीन तथा दीर्घकालीन खाका कोर्दै अगाडि बढ्नु, कालापानी लिपुलेकलगायत भारत अतिक्रमित नेपाली भूभाग समेटेर नेपाली नक्सा जारी गर्नु जस्ता सबल शासकीय क्षमताका कारण भारतीय शासक ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न चाहन्छ । यस्ता घाम जत्तिकै छर्लङ्ग रहेका तामाम तथ्यविपरीत माधव नेपाल र प्रचण्ड समूह उल्टो ओली लक्षित अनेक मनगढन्ते आक्षेप लगाइरहेका छन । जसले महाराजलाई साष्टाङ्ग दण्डवत् गरेर मोहर चढाए, जसले राजदरवारमा प्रधानमन्त्री हुन लाम लागेर अर्जी हाले, जसले प्रतिगमन आधा सच्चियो भने उनै ओलीविरुद्ध नानाथरि भद्दा आरोप लगाइरहेका छन् । तर हजार झूटलाई एउटै सत्यले सत्यानाश पार्छ भन्ने देखे भोगेको हुँदा केही दिन र छिनको खपतका लागि यो लेखक लेखिरहेको छैन ।

बिदाइ हुनलागेका बेला भारतीय राजदूत रन्जित रायले प्रसिद्ध लेखक तथा पत्रकार सामु नेपालले विचार नपुर्याउने हो भने अबको दश वर्षमा नेपालको हालत अहिलेको भन्दा बिग्रने र नेपाल ठूलो द्वन्द्वमा प्रवेश गर्नेछ भनेका थिए । यसै प्रसंगमा नेकपा स्थायी समिति सदस्य तथा हाल नवनियुक्त मन्त्री मणि थापाले केही समय अघि एक अन्तर्वार्तामा भन्नुभएको प्रचण्ड ओलीसित फाइट नगरी नछाड्ने मनस्थितिको परिणाम संसद् विघटनको बाध्यता अरु पुष्टि हुन्छ । ओलीविरुद्ध लामो समयदेखि संसद सदस्यहरुको बहुमत जुटाएर अविश्वास सिर्जना गर्ने पटक पटकको प्रयत्न असफल भएको देखिन्छ । नेता शंकर पोखरेलका अनुसार नेपाल प्रचण्ड गुटले सभासद्को मतदान गरेर र गराएर भए पनि विवाद समाधान गरौँ भन्दा पनि नमानेको रहस्य खोलेका छन । नेपाली जनतालाई माधव र प्रचण्डले गरेको घात र अपराध थाह छ, त्यसैले अव उपर्युक्त सत्य तथ्य अवस्थालाई गम्भीर रुपमा मनन गरेर नेपाली कांग्रेस पार्टी र नेतृत्व बहुतै जिम्मेवार हुनु जरुरी देखिन्छ । सरकार र सत्ता अहिले गए फेरि प्राप्त गर्न सकिन्छ तर यस भन्दा ठूलो क्षति भयो भने नेपाली पहिचान नै गुम्ने खतरा हुन्छ ।