जनता टाइम्स

१३ पुष २०७७, सोमबार १४:००

कुनै गुटमा नलाग्ने राष्ट्रियसभाको नेकपा दलका नेता शर्माको घोषणा


काठमाडौं, पुष १३

सत्तारुढ नेकपामा देखिएको गुटले राजनीति हलचल भईरहेका बेला राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा सहभागी नहुने घोषणा गर्नुभएको छ ।
विगतमा प्रचण्ड–नेपाल पक्षको भेलामा उभिनु भएका उहाले अब पार्टी विभाजन रोक्न वामदेव गौतमसँग सहकार्यमा रहेको भन्दै केपी ओली र प्रचण्ड–माधव नेपाल दुवै खेमामा नलागेको बताउनु भएको हो ।

१७ पुषबाट बस्न लागेको राष्ट्रियसभाको बैठकमा पनि आफु तटस्थ भएर काम गर्ने बताउनु भयो । उहाले आफू स्वतन्त्र भूमिकामा रहने र राष्ट्रियसभामा दलको नेताको हैसियतले पार्टी मिलाउन लाग्ने बताउनु भयो । ‘म स्वतन्त्र भूमिकामा रहने भएको छु । पार्टी मिलाउन वामदेव गौतमसँग पनि छलफल गर्दैछु । हामी दुवैजनना एउटै कित्तामा भयौं अहिले । उसैपनि राष्ट्रियसभाले सरकार बनाउने र ढाल्ने होइन,त्यहाँ पक्ष विपक्षमा उभिनु पनि हुँदैन । मलाई कुनै पनि गुटमा सामेल नगर्नुस्’, उहाको भनाई थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित तीन जना समेत जोडेर नेकपाका ५० सांसद छन् । ५० जना मध्ये वामदेव गौतम दुवैतिर नलाग्ने भनेर बस्नु भएको छ । प्रचण्ड–नेपाल पक्षले आफुहरुसँग २४ सांसद रहेको दावी गर्दै आएका छन् ।