बाँके, पुस १४। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले कम्युनिष्ट पार्टीको १३ देखि ३३ वर्षसम्म नेतृत्व गरेका २ पटकसम्म प्रधानमन्त्री भइसकेका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनैका लागि मरिहत्ते गरेर नेकपालाई विभाजन गरेको बताउनु भएको छ । प्रेस संगठन बाँकेले नेपालगन्जमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेकपाका नेता बस्नेतले यस्तो बताउनु भएको हो ।
बस्नेतले प्रधानमन्त्रीको संसद विघटन गरी दिएपछि पुनः प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाले सडक छाप प्रधानमन्त्रीमा प्रचण्ड परिणत भएको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो । लोकतन्त्रको मुल मर्म नै जनअभिमत भएकाले प्रधानमन्त्रीको संसद विघटन गरेर चुनावमार्फत जनमत दिने निर्णयलाई सर्वोच्च अदालतले सदर गर्ने बताउनु भयो । आफूलाई लोकतन्त्रको हिमायती भन्ने नेताहरुले नै सर्वोच्चलाई दबाब र प्रभाव पार्ने कार्य गरिरहेको पनि उहाको भानई थियो ।
‘संविधानमा ५ वर्षमा मात्रै चुनाव हुनुपर्छ भन्ने कानुनी व्यवस्था भए पनि लोकतन्त्रमा जनमत नै सर्वोपरि हुने भएकाले त्योभन्दा पहिले पनि चुनाव हुन सक्छ,’ बस्नेतले भन्नुभयो । सार्वभौम जनमत लिन्छु भन्ने प्रधानमन्त्रीको निर्णय बदर भएर संसद पुनःस्थापना भए मुलुकमा २०५२÷०५३ सालमा जस्तै पुन विकृति र विसंगतिको सिलसिला सुरु हुने, सांसद किनबेच, पँजेरोदेखि सुरा सुन्दरी काण्ड दोहोरिने उहाले बताउनुभयो ।
बल्खुको पार्टी कार्यालय र चुनाव चिह्न सूर्य केपी ओली नेतृत्वको आफूहरुको पार्टीकै हुने भन्दै उहाँले प्रचण्ड र माधव नेपालले नैतिक हिसाबले सूर्य पाउने तर्क गर्न नमिल्ने बताउनुभयो । केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएपछि उहाँको लोकप्रियताका कारण नेकपाले बहुमत पाएको बस्नेतको भनाई थियो । केपी ओलीलाई होइन नेकपालाई जनताले बहुमत दिएका हुन भन्नेहरुले सूर्य चिह्न नलिई चुनावी मैदानमा उत्रिएर विजयी भएर देखाउन पनि उहाले चुनौती दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्