जनता टाइम्स

२० जेष्ठ २०७६, सोमबार १९:१६

खानेपानी मन्त्रीद्वारा शुक्लाफाँटा आरक्ष पीडितहरुको व्यवस्थापन गर्न वनमन्त्रीको ध्यानाकर्षण


काठमाडौं, जेठ २०

कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) का कारण घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका गरी करिब १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको ध्यानाकर्षण गराइएको छ ।

खानेपानी मन्त्री बिना मगरसहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो । भेटमा खानेपानी मन्त्री मगर सहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतका टोली सहभागी थियो ।

वनमन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उहाँको भनाई थियो । निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नं ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीय बासीहरु घरबार विहीन भएपछि बिचल्लीमा परेका थिए ।

उतिबेलाको समस्या अहिले पनि ज्युँ का त्युँ नै रहेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । उहाँले समस्या समाधानका लागि भनेर धेरै आयोग बनाईएपनि घरबारविहीन जनताको समस्या अझै समाधान नभईसकेको स्पष्ट पार्नुभयो । त्यसैगरी वन मन्त्रीसँगको भेटमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ ।

कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ । नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जंगल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताउनुभयो ।