जनता टाइम्स

१६ पुष २०७७, बिहीबार १५:२७

माधव–झलनाथलाई प्रचण्डको निर्देशन : यता आइसक्नु भो, अव ‘महान जनयुद्ध’ भन्न सिक्नोस


उतातिर (प्रधानमन्त्री ओली) अधिकांश हिस्सा पूर्वएमाले छन, हाम्रातिरका थोरै मिसिए, यतातिर अधिकांश हिस्सा जनयुद्ध पृष्टभूमिका छन, यो यथार्थलाई बुझ्नुपर्छ, तपाईं यता आइसक्नु भयो, अव जनयुद्ध महान भन्न सिक्नोस

काठमाडौं, पुस १६ । पार्टी एकताको सहमति र बिधानबिपरित प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन असफल भएपछि अलग समुह निर्माण गर्नुभएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अव कित्ता क्लियर भइसकेको भन्दै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई ‘जनयुद्ध’को गाथा गाउन निर्देशन दिनुभएको तथ्य बाहिर आएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई महाधिवेशन र चुनाव अगावै दुवै पदबाट ‘कू’ गर्ने प्रचण्डको योजनालाई साथ दिएर प्रचण्डपथमा समाहित हुनुभएका नेताद्वय नेपाल र खनाललाई आफ्नो समुहले जनयुद्धलाई नै महान ठान्ने भएकोले नेता बन्नका लाथि गाथा गाउन निर्देशन दिनुभएको नेपाल निकट एक नेताले नै जनाएका हुन । अध्यक्ष प्रचण्डले जनयुद्ध महान भन्ने बिश्वासमै आफूपछिको सहयोगीका रुपमा अध्यक्ष राखेको जनाउ पनि दिनुभएको त । ती नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार मंगलवार काठमाडौंमा आयोजना गरिएको बिरोध जुलुस र सभाको तयारीकै क्रममा प्रचण्डले जनयुद्धको बिषयमा स्पष्ट भएर कुरा गर्न नेपाललाई निर्देशन दिनुभएको थियो ।

अध्यक्ष प्रचण्डले आफूसँग पूर्वमाओवादीको अधिकांश हिस्सा रहेको भन्दै अव जनयुद्धका सिपाहीको भावना बुझेर त्यसो गर्नुपर्ने बताउनु भएको ती नेताले बताए । ‘उतातिर (प्रधानमन्त्री ओली) अधिकांश हिस्सा पूर्वएमाले छन, हाम्रातिरका थोरै मिसिए, यतातिर अधिकांश हिस्सा जनयुद्ध पृष्टभूमिका छन, यो यथार्थलाई नेतृत्वमा रहेका सवैले बुझ्नुपर्छ,’ माधवलाई प्रचण्डको निर्देशन उधृत गर्दै ती नेताले भने, ‘तपाईं यता आइसक्नु भयो, अव जनयुद्ध महान भन्न सिक्नोस ।’ स्रोतका अनुसार प्रचण्डले अहिले आफूतिर नआई प्रधानमन्त्री ओलीलाई साथ दिने पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, बादलदेखि अधिकांश पूर्वमाओवादी हुँदा नै छाडेर गएको र अहिले पनि छाडेको भन्दै जनयुद्धको मुलधार आफै रहेको र पार्टीमा ८० प्रतिशत सोही हिस्साका नेता–कार्यकर्ता उभिएको भन्दै अव आफूहरुको पार्टीमा ‘महान जनयुद्ध’ भन्नुको बिकल्प नरहेकोमा जोड दिनुभएको छ ।

‘पार्टीको आधिकारिकता र सूर्य चिन्ह दावी गरिएको छ, त्यसैले भन्नलाई त जनताको जनवाद नै भन्ने हो तर त्यसभित्र ‘महान जनयुद्ध’ नै सार हो,’ माधवसँग प्रचण्डको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार प्रचण्डले जनार्दन शर्मा, बर्षमान पुन, शक्ति बस्नेत, मातृका यादवलगायतका नेताहरुले जनयुद्धलाई महान नभन्ने जोसुकै भए पनि पार्टीमा स्थान दिन नहुने अडान आफूसँग राखेको र आफूले माधवको समुहले ‘महान जनयुद्ध’ भन्ने बिश्वास दिलाएकोले पनि यसलाई अंगिकार गर्न भनेका छन । ‘तपाईंहरुलाई तत्कालै ‘महान जनयुद्ध’ भन्न त अहिल गाह्रो पर्ला, तर अव बानी बसाल्नोस, केही समयपछि मुखमा आफै आउँछ,’ प्रचण्डको भनाई थियो ।

बिभाजित भएपछि नेकपामा अध्यक्ष ओलीको नेतृत्वमा अधिकांश पूर्वएमाले नेता–कार्यकर्ता छन । पूर्वमाओवादी तर्फबाट सचिवालय सदस्य रामबहादुर थापा, बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभू साहलगायतका नेता हुनुहुन्छ । एमाले र माओवादीबीच पार्टी एकता हुँदा तात्कालिन नेकपा एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जवज) को सवै कुरा समावेश गरेपनि नाम भने जनताको जनवाद दिइएको छ । अबैधानिक बाटोबाट ‘कू’ सत्ता र पार्टी नेतृत्व हत्याउने प्रयाश असफल भएपछि पूर्वएमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका नताहरुलाई आफ्नो पछि लगाएर प्रचण्डले पार्टी नै बिभाजन गर्नुभएको छ ।

बिभाजनमा आफूतिर पूर्वमाओवादीकै बर्चश्व रहेकोले अव जनयुद्धको गाथा गाउनुपर्ने सर्त अघि सार्दै निर्देशन दिनुभएको हो । प्रचण्डले दिएको यो निर्देशनबारे नेता नेपालले असहमति राखेपनि आफू निकट अत्यन्तै निकटबाहेक अरु नेतालाई कुनै जानकारी गराउनु भएको छैन । प्रचण्डको सर्तबारे जानकारी दिएमा आफ्नै साथमा आएका नेताहरु फिर्ता हुने भन्दै नेपाल चुपचाप रहनुभएको स्रोतले बतायो ।

‘महान जनयुद्ध’ मान्नुपर्छ भन्ने सर्त राखेपछि सवै फर्किहाल्छन नि, त्यसैले चुपचाप हुनुहुन्छ, बिरोधसभामा झलनाथ र माधवले अन्टसन्ट भाषण गर्नुको कारण त्यही तनाव हो,’ नेपाल निकट अर्का नेताले भने । मंगलवारको बिरोधसभामा माधवले गणतन्त्रबिरुद्धको आन्दोलनमा आफैले सम्बोधन गरको घोषणा गर्नुभएको थियो भने झलनाथले कालिगढले बनाए भन्दै दुनिया हसाउनु भएको थियो । पार्टी छाडेलगत्तै प्रचण्डले राखेको सर्त र निर्देशनबाट दिमाग चकमराएको कारण दुवै नेताले दुनियाँ हसाउने गरी भाषण गर्न पुगेको उनको भनाई छ ।