काठमाडौं, पुष १७
सरकारले सशस्त्र प्रहरी बलका जनशक्तिबाट सशस्त्र प्रहरी कर्मचारीहरू रेलवे सुरक्षामा खटाउन स्वीकृति दिएको छ । पुस १५ मा बसेको मन्त्रिपरिषद्ले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको हो ।
यस्ता छन्, पुस १० र १५ गते बसेका मन्त्रिपरिषद्का निर्णय
रक्षा मन्त्रालय प्राविधिक सहायक रथी डा. देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा प्राचीन कपिलवस्तु राज्यको राजधानी सहर तिलौराकोट वरपर रहेका ३५ वटा घर र करीब ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक ९विशिष्ट सामान्य प्रशासन श्रेणी० पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने निर्णय भएको छ ।
झापा, गौरादह नगरपालिका वडा नं. ५ बस्ने गोपाल खनाललाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा २ वर्षको लागि पुनः नियुक्ति गर्ने उल्लेख छ ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर स्वीकृत गर्ने उल्लेख छ ।
त्यस्तै सेफगार्ड्स, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग नियमावली, २०७७ स्वीकृत गरेको छ ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १५६ मिलियन वरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजना, चितवनको निम्ति आर्थिक वर्ष २०७७–७८ को लागि राजपत्रांकित ४ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने भनिएको छ ।
रसुवा, धनुषा, दैलेख, सल्यान, बारा, बैतडी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सप्तरी र कपिलवस्तु गरी थप ११ जिल्लामा बालपोषण संरक्षण अनुदान कार्यक्रम विस्तार गर्न स्वीकृति प्रदान गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभामा आव २०७७–७८ माघदेखि आव २०८०–८१ पुस मसान्तसम्मको लागि परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव १ अस्थायी दरबन्दी सिर्जना गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
इएमआरटीडीका भित्री पानाहरूमा राख्ने तस्विरहरू स्वीकृत गरेको छ । सगरमाथा शिखरको उचाइ ८८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने भएको छ ।
राम शान्तिकुञ्ज अनाथ महिला सेवा आश्रम, वराह नगरपालिका–०९, सुनसरीको भवन निर्माण तथा आश्रम सञ्चालनका लागि दुई करोड ५७ लाख अनुदान उपलब्ध गराउने उल्लेख छ ।
नेपाली सेनालाई लजिष्टिक बेस निर्माण–विस्तार गर्नका लागि बाँके जिल्लाको कोहलपुर न.पा.–२ कौशिलानगरमा रहेको बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रभित्रको मयूर मध्यवर्ती र जनएकता मध्यवर्ती सामुदायिक बनमा रहेका खयर, बबुल र सिसौ लगायतका विभिन्न प्रजातिका थप कूलजम्मा २४३ वटा रुखहरु हटाउन स्वीकृति दिने उल्लेख छ ।
नेपाली सेनालाई ब्यारेक निर्माण–विस्तारका लागि रुपन्देही जिल्लाको सैनामैना ब्यारेकभित्र रहेका साल लगायतका प्रजातिका कूलजम्मा ३६ वटा रुखहरु हटाउन स्वीकृति दिने समेत निर्णय भएको छ । उद्योग, वाणिज्य तथा प्राइभेट फर्म रजिष्ट्रेशन (तेह्रौं संशोधन) नियमावली, २०७७ स्वीकृत गरेको छ ।
संयुक्त अधिराज्यबाट यात्रा आरम्भ हुने वा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउनेसम्बन्धी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको मिति पुस ७ को निर्णय अनुमोदन गरेको छ ।














प्रतिक्रिया दिनुहोस्