जनता टाइम्स

१८ पुष २०७७, शनिबार ११:३२

प्रचण्डले पार्टी र देश बनाउँछन भन्ने भ्रम नपाल्दा हुन्छ, साथ दिनेहरु आफै पछुताउनुपर्छ : लेखराज भट्ट


काठमाडौं, पुस १८ । उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले प्रण्डबाट पार्टी निर्माण हुन्छ भन्ने भ्रम त्याग्न सवैलाई आग्रह गर्नुभएको छ । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट््टले प्रचण्डको योग्यता नै बिनाश गर्नेतिर रहेको भन्दै पार्टी र देश निर्माण हुन्छ भन्ने भ्रम कसैले पाल्न नहुने बताउनु भएको हो ।

‘प्रचण्डको काम नै भत्काउने, बिगार्ने हो, उहाँबाट पार्टी र देश बन्छ कि भन्ने भ्रम पालेर कोही त्यतातिर लागेका हुन भने त्यो भ्रम नपाल्दा हुन्छ, उहाँ त जतिखेर पनि बिनाशमै ध्यान दिनुहुन्छ,’ नेकपा रामेछाप काठमाडौं सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टले भन्नुभयो, ‘प्रचण्डबाट न त देश बन्छ, न पार्टी नै । उहाँले गर्ने त जुन पार्टीमा रह्यो, त्यही पार्टी बिघटन हो ।’

मन्त्री भट्टले प्रचण्डको काम नै सरकार ढाल्ने, बनाउने र अस्थिरता निम्त्याउने रहेको तथ्य बुझ्न पनि आग्रह गर्नुभयो । शान्ति प्रक्रियामा आएयता जतिपनि सरकार परिवर्तन भयो, ती सवै काम प्रचण्डले नै गरेको मन्त्री भट्टले बताउनु भयो । ‘आफ्नै सरकार पनि ढाल्न माहिर हुनुहुन्छ प्रचण्ड, आफ्नैसहित ९ ओटा सरकार प्रचण्डले नै ढाल्नुभयो, उहाँको ध्यान देश बनाउनेतिर होइन, सरकार ढाल्नेतिर मात्रै हुन्छ, यस्तो प्रबृत्तिलाई साथ दिनेहरु आफै पछुताउनुपर्छ ।’