जनता टाइम्स

२० पुष २०७७, सोमबार १६:५९

शंकर पोखरेलको निश्कर्ष : माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफै फसे


चितवन, पुस २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको बताउनु भएको छ ।

नेकपा चितवनले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो । ‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन, यसपटक कमरेड प्रचण्ड आफै फस्नुभयो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्वएमालेभित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताउनु भयो । सडकमा निस्कँदा जनताले साथ देलान भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको तथ्य पनि उहाँले राख्नुभयो । मुख्यमन्त्री पोखरेलले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताउनु भयो ।

‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ, प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन,’ पोखरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको तथ्य पनि राख्नुभयो । जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै पोखरेलले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिनुभयो ।

प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको बताउँदै उहाँले अबको निर्वाचनमा चितवन पनि छाड्ने संकेत मिलिसकेको खुलासा गर्नुभयो । कार्यकर्ता भेलामा उहाँले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने भन्दै कुनै भ्रम नपाल्न आग्रह गर्नुभयो । नेता पोखरेलले निर्वाचन आयोगमा केपी शर्मा ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको ठोकुवा पनि गर्नुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश सचिव आनन्द पोखरेलले नेकपा पुनर्गठन बाध्यता भएको भन्दै अव नातावादको विरूद्ध उत्रिन कार्यकर्तालाई आह्वान गर्नुभएको थियो ।