जनता टाइम्स

२१ पुष २०७७, मंगलवार २०:२४

ईश्वर पोखरेलले मैथिलीमै सुनाए मधेशी जनतालाई प्रचण्ड-माधवले देश र पार्टीबिरुद्ध गरेको षडयन्त्रको कथा


जनकपुर, पुस २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रका दुश्मनले सरकार र नेतृत्वलाई सिध्याउने षडयन्त्र गरेपछि व्यवस्था जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कठोर कदम चाल्नुपरेको तथ्य सार्वजनिक गर्नुभएको छ । जनकपुरमा आज आयोजित बृहत् कार्यकर्ता भेला तथा जनसभालाई सम्बोधन गर्दै नेता पोखरेलले पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालले पार्टीमै बसेर गरेको गद्धारी उजागर गर्नुभएको हो ।

उपप्रम पोखरेलले मधेशका जनतालाई पछिल्लो राजनीतिक अवस्थाबारे मैथिली भाषामै प्रष्ट पार्नुभयो । लामो समय धनुषा महोत्तरीमा पार्टी काम गर्नुभएका पोखरेल मैथली भाषामा अब्बल हुनुहुन्छ । जनकपुरमा आयोजित दशौं हजारको सभामा पोखरेलले मैथलीमै आफ्नो धारणा राख्नुभएको हो । प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेपछि आयोजित पहिलो भेलामा उत्साहजनक सहभागिता रहेको थियो ।

‘आज तीनवर्ष नवित्दै पार्टीभित्रबाटै एकता कमजोर पार्न हमला शुरु भयो । सत्ता र पदकै लोभमा प्रचण्ड र माधव नेपालहरुले पार्टी फुटाए । ती मधेशी जनताका पनि दुश्मन हुन,’ पोखरेलले भन्नुभयो । उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने सपना देखेर अगाडि बढिरहँदा पार्टीकै नेताले असफल बनाउन लागेको र सोही कारण संसद विघटन गर्नुपरेको एक एक तथ्यसमेत राख्नुभयो ।

‘पूर्वपश्चिम रेलमार्ग ६ लेन, तराई मधेशका हुलाकी राजमार्ग र उत्तरमा मदन भण्डारी राजमार्गलगायतका योजना अगाडि बढेको छ, यो सबै ओलीले गरेको हो । ओली सपना देखेर अगाडि बढ्छन,’ उपप्रधानमन्त्री पोखरेलको भनाई थियो । उहाँले प्रधानमन्त्री ओली मात्र भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने नेपालको एक मात्र नेता भएको तथ्य पनि सुनाउनु भयो ।

भेलामा प्रदेश २ का नेकपा इन्चार्ज सत्यनारायण मण्डल, नेता रघुवीर महासेठ, प्रदेश अध्यक्ष तथा मन्त्री प्रभु साह, जुली महतो, लीलानाथ श्रेष्ठलगायतले मधेशमा ओली नेतृत्वको नेकपा नै पहिलो शक्ति रहेको ठोकुवा गर्दै बिभाजनकारीको भ्रममा पर्न नहुने बताउनु भयो ।

सभाअघि जनकपुरधामको रेल्वे स्टेशन परिसरबाट विशाल र्याली निकालिएको थियो । र्यालीमा गाउँ–गाउँबाट नेता कार्यकर्ता आइपुगेका थिए । जनकपुरको आजको सभा आयोजकले सोचे भन्दा पनि बढी सहभागिता रहेको थियो । आयोजकका अनुसार यति धेरै जनता आउने अपेक्षा थिएन, जनताको साथ ओलीतिरै छ भन्ने प्रमाण आजको उपस्थिति हो ।