जनता टाइम्स

२४ पुष २०७७, शुक्रबार १४:२९

स्वास्थ्यमन्त्रीको निर्देशन : कोभिडविरुद्धको खोप आएको २ दिनभित्रै लगाउन सुरु गर्ने गरी काम गर्नुस


काठमाडौं, पुस २४

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नेपालमा कोभिड खोप आएको २ दिन भित्र लगाउन थाल्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । आज स्वास्थ्य सेवा विभागको अनुगमनको क्रममा मन्त्री त्रिपाठीले सो निर्देशन दिनुभएको हो ।

अनुगमनका क्रममा मन्त्री त्रिपाठीले कोभिड खोपका तयारीका बारेमा पछिल्लो जानकारी लिनुभएको थियो भने विभागले चित्त बुझ्दो काम नगरेको र अहिलेसम्म खोपको बारेमा कुनै तयारी नभएको भन्दै त्रिपाठीले छिटोभन्दा छिटो खोप ल्याउनका लागि सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।

उहाँले कोभिड खोप खाएको २ दिनभित्र स्वास्थ्यकर्मीलाई लगाउने र एक हप्ताभित्र ७० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने गरी तयारी गर्न समेत आग्रह गर्नुभएको छ । विभागको व्यवस्थापन महाशाखाका प्रमुख भिमसिंङ टिङ्करीले १५ दिनभित्र खोप भण्डारणको तयारी पुरा हुने बताउनुभयो ।

‘अहिले हामीलाई माइनस २ देखि ८ डिग्रीसम्मको खोप भण्डारणका लागि कुनै समस्या छैन,’ उहाँले भन्नुभयो, ‘माइनस २० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने खोपको भण्डारण थोरै छ भने माइनस ७० डिग्री सेन्टिग्रेटको खोपको भण्डारण क्षमता हामीसँग छैन ।’

माइनस २ देखि ८ डिग्रीको खोप २० प्रतिशत नेपालीलाई पुग्ने विभागले जनाएको छ । कोभिड–१९ खोप भण्डारणका लागि गाबीले नेपालका लागि १९ वटा कोल्ड चेन सहयोग गर्दै छ । जसमा माइनस २ देखि ८ डिग्री सेन्टिग्रेटको १० वटा र माइनस २० डिग्री सेन्टिग्रेटको ९ वटा कोल्ड चेन छन् ।