जनता टाइम्स

२७ पुष २०७७, सोमबार १९:३६

केपी ओलीको देश बनाउने भिजन र राष्ट्रवादी अडान देखेर प्रचण्ड-माधव आँत्तिए : उर्जामन्त्री रायमाझी


वि.वि.श्रेष्ठ/दमौली, तनहुँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोपवहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवीका कारण पार्टीभित्रका नेताहरुले आजको यो अवस्थाको सिर्जना गरेको तथ्य खोल्नुभएको छ । लामो समयदेखि आन्दोलन हुँदै आजको अवस्थासम्म आईपुग्दा ओलीको नेतृत्व नै निर्णायक भएको हुदाँ ओलीलाई गणतन्त्र विरोधी भन्नेहरु आफै गणतन्त्र र संघीयता विरोधी भएको ठोकुवा पनि रायमाझीले गर्नुभयो ।

पहिलो संविधान सभावाट संविधान वन्न नसक्दा त्यसलाई विघटन गर्नवाट पटक पटक रोकेका ओलीका कारण नै देशमा गणतन्त्र संस्थागत भएको तथ्य पनि उहाँले सवैलाइ स्मरण गराउनु भयो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँद्धारा आज आयोजित कार्यक्रममा मन्त्री रायमाझीले प्रचण्ड र माधव नेपालबाट मुलुक बन्छ भन्ने झिनो आसा छ भने त्यो पनि त्याग्न आग्रह गर्नुभयो । आफूले प्रचण्डलाई लामो समयसम्म साथ दिएको तर अहिले आएर प्रचण्डको गतिविधी देश र जनताको लागि घातक भएको र ओली सरकार नै देश–जनताको लागि आवश्यक भएको हुदाँ नयाँ नेपाल र समृद्ध नेपाल निर्माणमा लागि परेको बताउनु भयो ।

प्रचण्डको पार्टीमा लोकतन्त्र नै नभएको तथ्य पनि उहाँले राख्नुभयो । ‘प्रचण्डको नेतृत्वको माओवादीमा आम नेता तथा कार्यकर्ताहरु प्रचण्डमा विलय हुनुको विकल्प थिएन । फरक मत राख्नेहरुको पार्टीमा कुनै ठाँउ थिएन, छैन पनि, आफ्नै गुरु मोहन वैद्य, वावुराम भट्टराई, नेत्रविक्रम चन्दहरु त्यसै पार्टी छोडेर गएका होइनन,’ रायमाझीले भन्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका इञ्चार्ज पृथ्वीसुव्वा गुरुङ्गले सरकारको लोकप्रियता देख्न नसक्नेहरु र ओलीको लोकप्रियताले आफनो भुमिका खुम्चिएको महसुस गर्नेहरुले सरकारले वाध्य भएर यो कदम चाल्नु परेको तथ्य राख्नुभयो । चुनाववाट जनतामा गएर मत लिनु नै अवको आवश्यकता हुदाँ श्रेष्ठता हासिल गरेर देश र पार्टीको नेतृत्व लिन पनि उहाँले सुझाव दिनुभयो ।

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मन्त्री किरण गुरुङ्गले प्रचण्ड र माधव नेपालमा रहेको सत्तामोह नै पार्टी विभाजनको मुख्य कारण भएको बताउनु भयो । अध्यक्ष र प्रधानमन्त्री वन्नका लागी आफनै विधि र प्रक्रिया भएता पनि जर्वजस्ती हत्याउन खोज्दा यो अवस्था आएको उहाँको भनाई थियो ।

पार्टी कार्यलय दमौलीमा आयोजित गरेको वृहद कार्यकर्ता भेलाको अध्यक्षता नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले गर्नुभएको थियो भने संचालन राष्ट्रियसभाका सदस्य भगवती न्यौपानेले गर्नुभएको थियो । हजारौं कार्यकर्ता उपस्थिती रहेको कार्यक्रममा निवर्तमान सभासद कृष्णकुमार श्रेष्ठ, किसान, प्रदेश सदस्य राम वहादुर गुरुङ्ग, संविधान सभा सदस्यद्धय टुकराज सिग्देल, हसिना खातुन, नेकपा केन्द्रीय सदस्यहरु श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्यायलगायतका नेताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं युवाहरु नेकपामा प्रवेश गरेका थिए ।