जनता टाइम्स

२८ पुष २०७७, मंगलवार १३:१०

ग्रान्डी अस्पतालबाट विनोदकुमार शाहको अपिल : ‘ओली नेतृत्वको पक्षमा गोलबन्द होऔं’


सुर्खेत, पुस २८

नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विनोदकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको देशभक्तिपूर्ण आन्दोलनलाई कमजोर पार्ने मतियारलाई इतिहासले धिक्कार्ने बताउनुभएको छ । पार्टी कामको सिलसिलामा नेपालगञ्जबाट दैलेख जाने क्रमका रत्न राजमार्गमा दुर्घटनामा परी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको उहाँले कुनै पनि भ्रमका पछि नलागी राष्ट्रवादी चेतना सँधै उचो राख्ने प्रण गर्दै ओली नेतृत्वको आधिकारिक नेकपाको पक्षमा गोलबन्द हुन अपिल गर्नुभएको हो ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै नेकपा केन्द्रीय सदस्य शाहले सिंगो पार्टी नेकपा र सरकार दुई पार्टी एकता भएको तीन वर्ष नपुग्दै केही नेताहरूको अधैर्य, अस्थिरताबादी र पदलोलुप मानसिकताको शिकार भएको टिप्पणी गर्नुभयो ।

‘यसले फेरी एकपटक एकिकृत कम्युनिष्ट पार्टीमा गम्भीर संकट देखिएको छ, आफ्नै पार्टीको सरकारलाई असफल र अलोकप्रिय बनाउन केही नेताहरू देशी विदेशी प्रतिक्रियावादीहरूको गोटी बने,’ उहाँले लेख्नुभएको छ,‘यो चलखेल नेपाली जनताको राष्ट्रवादी चेतना र देशभक्तिपूर्ण आन्दोलन कमजोर बनाउने षडयन्त्रको पटाक्षेप हो, इतिहासले यसका मतियारहरूलाइ धिकार्नेछ ।’

यही पुस २० गते पार्टीको पूर्व निर्धारित कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि दैलेख जाने क्रममा पार्टी केन्द्रीय सदस्य एवं जिविस दैलेखका पूर्व उपसभापति सूर्यबहादुर शाही, जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाह र नेकपा जिल्ला कमिटी सदस्य पदम माझी रत्न राजमार्गको बबई नजिक जीप दुर्घटनामा परी घाइते हुनुभएको थियो ।

गम्भीर घाइते उहाँलाई दुर्घटनाको भोलिपल्ट हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । दैलेख २ बाट निर्वाचित पूर्वसांसदसमेत रहनुभएको नेता शाहले नेकपामा देखिएको असहज परिस्थितिले पार्टीका आम कार्यकर्ता र शुभचिन्तकलाई दुःखित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो अवस्थामा हाम्रो पार्टीको नेतृत्व र सरकारलाई बदनाम गर्ने प्रतिक्रियावादीहरूको षडयन्त्रको पर्दाफास गर्न हाम्रो पार्टीले आयोजना गरेका कार्यक्रममा सशरीर सहभागी हुन नसके पनि म चाँडै स्वास्थ्यलाभ गरी दैलेखी जनतासमक्ष आउने प्रतिवद्धता गर्न चाहन्छु ।’

नेता शाहले नै २०५२ सालमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्न सघाउने र राष्ट्रिय राजनीतिको मुलधारमा रही यस क्षेत्रको विकास र जनहितका लागि निरन्तर क्रियाशिल रहने प्रण गरी दैलेख जिल्लाको सिंगो नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई तत्कालीन नेकपा (एमाले) मा समाहित गर्न अगुवाई गर्नुभएको थियो ।

तर २०५४ सालको तत्कालीन नेकपा (एमाले) मा आएको विभाजनले हाम्रो एकिकृत कम्यूनिष्ट आन्दोलनको चाहनामा ठेस पुगेको टिप्पणी गर्दै भन्नुभयो,‘उक्त विभाजनले नेपालको राजनीतिक कोर्स नै बदल्नुका साथै देश र जनताले ठूलो क्षति व्यहोर्नु परेको कुरा इतिहासमा दर्ज भइसकेको छ, त्यसपछि नेपाली राजनीति देशी विदेशी प्रतिक्रियावादीहरूको क्रिडास्थल बनेको तितो यथार्थता हाम्रा सामु ताजै छ ।’

२०७४ सालमा भएको तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले फेरी एकपटक आशाका किरणहरू देखिएपनि पुनः प्रतिक्रियावादीहरु चलखेल पार्टीमा गम्भिर संकट निम्त्याएको उहाँको भनाई छ ।