जनता टाइम्स

६ माघ २०७७, मंगलवार २०:२०

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न अध्यक्ष ओलीको निर्देशन


काठमाडौं, माघ ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका जिल्ला, प्रदेश, जनसंगठनलगायत सवै तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।

नेकपा नुवाकोटको काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील म आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन पनि गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो । कतिपय नेताले साकाहारी आन्दोलन नभई मांशहारी आन्दोलनको कुरा गरी युवाहरुलाई भड्काउन खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिको पक्षमा रहेको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कसैको टाउको फुटाउन चाहँदैनौँ । हामी कसैलाई चोट नलागोस भन्ने चिताउँछौँ । हामी हिंसामा विश्वास गर्दनौं । जनतामा विश्वास गर्छाै । विगतमा लडाकूका रकममा नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनिमितता अब हुँदैन ।’ कार्यक्रममा नेकपा नुवाकोटका नेता केशव पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिनुभयो ।