जनता टाइम्स

७ माघ २०७७, बुधबार ११:२९

कालापानी जाने दार्चुला–तिंकर सडक निर्माण गर्दै सरकार


काठमाडौं, माघ ७

सरकारले पश्चिम सीमामा सडक बनाउने भएको छ । दार्चुलाको माथिल्ला क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालबाट सहजै हिँडेर जाने अवस्था नभएपछि सडक बाटो बनाउन शुरु गरिएको हो । नेपाली सेनाले सदरमुकाम दार्चुलाबाट घाँटीबगर हुँदै माथिल्लो तिंकर भञ्याङसहितको कालापानी क्षेत्रमा हिँडेर जानका लागि गोरेटो बाटो निर्माण गरेको थियो ।

अब भने दार्चुला–तिंकर जान मोटरबाटो नै निर्माण हुने भएको छ । सरकारले ८७ किलोमिटरको दार्चुला–तिंकर सडक खण्डको निर्माणलाई यसै आर्थिक वर्षदेखि अघि बढाउने निर्णय गरेको छ । सो सडक निर्माण भएपछि नेपालीले भारतीय बाटो भएर जानुपर्ने बाध्यता अन्त्य हुनेछ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको गोरेटो बाटो सम्पन्न गरेपनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

२०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निर्णयले सेनालाई उक्त सडक निर्माण गर्ने जिम्मेवारी दिएको हो । ‘सरकारको निर्णय अनुसार नेपाली सेनाले यस वर्ष अघि सडक निर्माणको कामलाई पनि थालिसकेको छ,’ सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, ‘यो दार्चुला–तिंकर सडक खण्ड निर्माण भएसँगै त्यहाँका जनताहरु सवारीसाधनको प्रयोग गरेर सडकबाटै तलमाथि गर्न सक्छन् ।’ सडक निर्माणको लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई ओटा क्याम्प राख्नका लागि ठाउँ हेरिसकेको छ ।

यसका लागि काठमाडौंबाट सेनाको विकास निर्माण निर्देशनालयको करिब एक सय जनाको सैनिक टोली दार्चुला गएर बसिसकेको छ । ती टोलीमा इन्जिनियरदेखि ट्रक, स्काईभेटरलगायत अन्य आवश्यक सामग्री प्रयोग गर्नेहरु रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

पहिलो क्याम्प सुन्सेराभन्दा ३ किलोमिटर अघि रहेको छ । दार्चुला सदरमुकामबाट सुन्सेरा ४० किलोमिटर रहेको छ । सुन्सेराबाट ३ किलोमिटर अघिको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ । सेनाले दोस्रो क्याम्प राख्न लागेको दुम्लिङ चाहिँ कोठेधारबाट १८ किलो मिटरमाथि पर्छ ।