जनता टाइम्स

१० माघ २०७७, शनिबार १६:०६

प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै नेकपामा प्रवेश गरे विप्लब समूहका प्रभावशाली नेता, दिए यस्तो कारण


काभ्रे, माघ १० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणी गौतम (हेमक) प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने घोषणासहित नेकपामा प्रवश गर्नुभएको छ । नेकपाले आज काभ्रेको बनेपामा आयोजित जिल्ला कमिटी बैठकमार्फत गौतम प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै नेकपामा प्रवेश गर्नुभएको हो ।

विप्लव समूहका नेता धमेन्द्र वास्तोलाको पक्राउविरुद्ध नेपाल बन्द आयोजना भएकै दिन सो समूहका केन्द्रीय सदस्य गौतमले आफू केपी ओलीको एजेण्डामा मिसिएको घोषणा गर्नुभयो । जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियताको सन्दर्भमा ओलीको अडानलाई आफूले निशर्त समर्थन गरेको बताउनु भयो ।

१० वर्षे माओवादी जनयुद्धकालमा काभ्रे, रामेछाप लगायतका जिल्लामा नेतृत्व गर्नुभएका गौतम शान्ति काभ्रेको कोशीपारी क्षेत्रका स्थापित नेता हुनुहुन्छ । पार्टी विभाजनपछि उहाँ विप्लव नेतृत्वको नेकपामा लाग्नुभएको थियो ।

भूमिगत रहदै आएका गौतम ओली नेतृत्वको नेकपामा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेन । बैठकलाई सम्बोधन गर्दै नेकपा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले केपी ओलीको विचारमा सबै एकीकृत हुने बताउनु भयो । उहाँले विगतको माओवादी जनयुद्धको लिगेसी प्रचण्डले छाडिसकेको भन्दै त्यसको लिगेसीका नेता कार्यकर्ताको संरक्षण पनि केन्द्रमा ओलीले र जिल्लामा आफूले गर्ने बताउनुभयो ।