जनता टाइम्स

११ माघ २०७७, आईतवार १६:५७

महेश बस्नेतको ठोकुवा : केपी ओली कम्युनिष्ट आन्दोलनको फलाम र प्रचण्ड–माधव काठ हुन


रुपन्देही, माघ ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘जंगली मान्छे’ को सज्ञा दिनुभएको छ । बुटवलमा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रचण्डलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जंगलबाट घरमा ल्याएर मान्छे बनाउन खोजे पनि नसकेको भनाई छ ।

‘उहाँ (प्रचण्ड) लाई मान्छे बनाउने धेरै प्रयास गरियो, तर सकिएन,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयो । उहाँले माधव नेपालले नेतृत्व गरेका बेला भण्डै सकिएको पार्टीलाई केपी शर्मा ओलीको मेहनतले अहिलेको उचाइमा ल्याएको तथ्य पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले संसद विघटन नगरी राजीनामा दिएको भए नेपालमा कम्युिनष्ट आन्दोलन नै समाप्त हुने तथ्य पनि बस्नेतले राख्नुभयो ।

‘गोठमा वितण्डा मच्चाउने प्रचण्ड–माधवरुपी दुईटा गोरु दाम्लो चुडाएर भागेका छन, अब कम्युनिस्ट आन्दोलन ठिक ढंगले अगाडि बढ्छ,’ बस्नेतले भन्नुभयो । उहाँले केपी ओली कम्युनिष्ट आन्दोलनका फलाम र प्रचण्ड–नेपाल काठ भएको बताउनु भयो । वैशाख १७ र २७ गते हुने चुनावमा प्रचण्ड–नेपाल समूह पत्तासाप हुने ठोकुवा पनि उहाँले गर्नुभयो ।