जनता टाइम्स

११ माघ २०७७, आईतवार २१:३५

निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता : ओली र प्रचण्डलाई पठायो बिभाजन हुन नसक्ने पत्र


काठमाडौं, माघ ११

काठमाडौं, माघ ११ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै बिभाजनलाई मान्यता नदिने निर्णय लिएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार बैठकले दुवै पक्षको मागदावी अस्वीकार गरेको छ । ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो । निर्वाचन आयोगको यो निर्णयसँगै नेकपाको बिभाजन नयाँ मोडमा पुगेको छ ।

आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहनुभएको छ । नेकपाका अध्यक्ष ओलीले अहिलेसम्म प्रचण्डसहित कुनैपनि नेतालाई पदबाट हटाएको छैन । प्रचण्ड–माधव पक्षले भने अध्यक्ष ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय आज मात्रै गरेको थियो । निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल छुट्टै समुह खडा गरी अघि बढनु भएको थियो । प्रचण्डले नेपाललाई अध्यक्ष बनाउँदै आयोगमा निवेदन दिनुभएको थियो । आयोगको यो निर्णयसँगै नेता नेपाल भित्ते अध्यक्षमै सिमित हुनुभएको छ ।