जनता टाइम्स

१३ माघ २०७७, मंगलवार १८:५६

विधिका कुरा प्रचण्ड समूहले गर्न सुहाउँदैन : मुख्यमन्त्री पोखरेल


काठमाडौं, माघ १३

नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अराजक तत्वले विधिका कुरा गर्न नमिल्ने बताउनुभएको छ । युवा संघ नेपालले बुटवलमा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अराजक काम गर्ने प्रचण्ड समूहलाई विधिका कुरा गर्ने अधिकार नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधिका कुरा गर्नेले विधि समाउनुपर्छ तर उहाँहरूलाई विधिका कुरा गर्न सुहाउन्न ।’ पार्टी एकता गम्भीर संकटमा परेको भन्दै पोखरेलले पार्टीलाई संकटमा पार्ने काम प्रचण्ड र माधव नेपालले गर्नुभएको बताउनुभयो । पार्टी एकता गर्ने पार्टीका सर्वोच्च कमाण्डरलाई कारबाहीको नाटक गरेर प्रचण्ड समूहले पार्टी विभाजन गरेको उहाँको भनाइ छ ।

केपी ओली महाधिवेशनबाट आएको अध्यक्ष र जनमतबाट आएको प्रधानमन्त्री भएकाले उहाँलाई हटाउन विधि खोज्नेले त्यही विधिमा जानुपर्ने पोखरेलेको भनाइ छ । ‘कसैलाई प्रधानमन्त्री हुने रहर छ भने चुनावमा जानुपर्छ, कसैलाई अध्यक्ष हुन रहर छ भने महाधिवेशनमा जानुपर्छ’पोखरेलले भन्नुभयो ।

एक जमानामा भित्ते राष्ट्पति भएका प्रचण्ड अहिले आएर फेरि भित्ते प्रधानमन्त्री भएको पोखरेलले बताउनुभयो । देशकै ठूलो पार्टीलाई तेस्रो पार्टी बनाउने माधव नेपाल अहिले केपी ओलीले पार्टी चलाउन नजानेको भन्ने आरोप लगाउँदै हिँडेको भन्दै पोखरेलले नेपालको पनि आलोचना गर्नुभयो । ‘जसले पार्टीको बिजयको झण्डा फहरायो, त्यसले पार्टी चलाउन नजान्ने ?’उहाँले प्रश्न गर्नुभयो ।

ठूलो राजनीतिक संकट नयाँ पुस्ताका लागि अवसर हुने पनि पोखरेलले बताउनुभयो । चुनावले नयाँ पुस्तालाई नयाँ अवसर दिने भएकाले आउने चुनाव नयाँ पुस्ताको लागि नयाँ अवसर भएको पोखरेलले बताउनुभयो ।

उहाँले जनतामा जाने कुरा लोकतान्त्रिक प्रक्रिया भएको पनि प्रष्ट पार्नुभयो । जनताको पक्षमा काम गर्ने र दलको अनुशासन पालना गर्ने जनप्रतिनिधिलाई अबको चुनावमा जिताएर पठाउन पनि उहाँले आह्वान गर्नुभयो ।