जनता टाइम्स

१४ माघ २०७७, बुधबार १४:०८

कोरोनाविरुद्धको खोप अभियान सुरु : तीन महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क पाउने बताउनु भएको छ । कोरोनाविरूद्ध खोप अभियानको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सवै नेपालीले निशुल्क खोप पाउने प्रष्ट पार्नुभएको हो ।

‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं, कुनै भेदभाव हुनेछैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कार्यक्रममा आफूले खतरा मोल्न तयार भएर अरुलाई बचाउन क्रियाशिल रहने अग्रपंक्तिमा खटिएका सबैको प्रधानमन्त्रीले खुलेर प्रशंसा गर्नुभयो । बिगत एक वर्ष अत्यन्तै कठिन अवस्थाबाट गुज्रिएको भन्दै प्रधानमन्त्री ओलीले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको जानकारी पनि दिनुभयो । कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय तहहरुले ठूलो भूमिका निर्वाह गरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोना महामारीले नै स्थानीय तहको महत्व कति रहेछ भन्ने स्पष्ट पारेको उहाँको भनाई छ ।

सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा रहेको भन्दै उहाँले जनतालाई रोग र भोकबाट बचाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कोरोना महामारीले गर्दा राम्रा बानीहरुको विकास भएको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद् दिनुभयो । थप खोप ल्याउनेबारे पहल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि हामीले कुरा गरिरहेका छौं, छिमेकी भारतबाटै खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

प्रधानमन्त्री ओलीले कोरोनाको खोपलाई नाफा कमाउने माध्यम बनाउन नहुने सरकारको बटमलाइन पनि सुनाउनु भयो । खोप अभियान सुरु भए पनि मास्क लगाउने, समाजिक दूरी कायम गर्ने, खानपान, सरसफाइमा ध्यान दिने लगायत काम कोरोना पूर्ण नियन्त्रण नभएसम्म जारी राख्न उहाँले सवैलाई अपिलसमेत गर्नुभयो ।

केही दिन अघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरुप उपलब्ध गराएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा आँकलन गरेको भन्दा कम क्षति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोरोनाका कारण ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण र संक्रमितको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।