जनता टाइम्स

१५ माघ २०७७, बिहीबार १७:५९

मानहानी मुद्दामा कठोर बन्यो सर्वाेच्च : चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानालाई आफै उपस्थित भएर जवाफ दिन आदेश


काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले मानहानी मुद्दामा चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज बाटोको म्यादबाहेक ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।

चार जना पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्वसभामुख दमननाथ ढुंगानालाई बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराउनु भएको थियो ।

यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराउनु भएको थियो । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेर अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै घिमिरेले रिट निवेदन दर्ता गराउनु भएको हो । अदालतले अवहेलना मुद्दामा सवै जनालाई आफै उपस्थित भएर बाटोको म्याद बाहेक ७ दिनभित्र जवाफ दिन भनेको हो ।