जनता टाइम्स

१७ माघ २०७७, शनिबार ०९:२८

टोपबहादुरको खुलासा : ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भएपछि प्रचण्ड अत्ताल्लिए


काठमाडौं, माघ १७ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुरले देश अब केपी ओलीमय भएपछि प्रचण्ड माधव समुह चुनावबाटै तर्सिएको बताउनु भएको छ । नेकपा अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको लागि ओलीले खेलेको भूमिकाका कारण देश ओलीमय भएको तथ्य राख्नुभयो ।

उहाँले प्रचण्डले आफै ओलीलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि बिचमै हटाउन खोज्नु सरासर गलत भएको बताउनुभयो । “प्रधानमन्त्री ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गरी निको भएर फर्किपछि प्रचण्ड अताल्निुभयो” रायमाझीले भन्नुभयो, “प्रचण्ड आफैले गरेको प्रस्तावको विपक्षमा उभिनुभयो ।” उहाँले प्रचण्डले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष बन्न हतार गरेकै कारण पार्टी विभाजनको स्थितिमा पुगेको भन्दै ओलीको कुनै दोष नरहेको बताउनुभयो ।

“प्रधानमन्त्रीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभयो, निकै राम्रा कामहरु भए, प्रतिपक्षले बिरोध नगरि बसेपनि पार्टी भित्रकै केही नेताहरु सरकारलाई असफल बनाउन योजनावद्ध रुपमा लागे ,’ ” उहाँले भन्नुभयो, “ओली हटाउने हस्ताक्षर क्याम्पेनको सबै भन्दा पहिले बिरोध गर्ने व्यक्ति मै हुँ” उहाँले थप्नुभयो, “ पार्टीभित्रैबाटै प्रधानमन्त्रीलाई कामै गर्न नदिई असफल बनाउन खोज्नले दुर्भाग्यपूर्ण अवस्था सिर्जना गर्यो ।”

उहाँले प्रचण्ड– माधव समूहले ओलीलाई झुठा र कृत्रिम आरोपहरु लगाउनुले उहाँहरु पार्टी विभाजन गर्न चाहेको प्रष्ट भएको टिप्पणी गर्नुभयो । मन्त्री रायमाझीले माधवको अध्यक्ष बन्ने सपनालाई निर्वाचन आयोगले चक्नाचुर पारिदिएको भन्दै निर्वाचन आयोगको फैसलाले प्रचण्ड– माधव समूह संकटमा परेको जिकिर गर्नुभयो । “निर्वाचन आयोगले पार्टी फुटको मान्यता नदिएपछि उहाँहरु अहिले संकटमा हुनुहुन्छ” उहाँले भन्नुभयो, “हामी कसैलाई कारवाही गरेका छैनऔं, पहिलो अध्यक्ष सहित को, कोलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गर्नुभयो भन्ने सुनको छ, यसबाट उहाँहरुले एकता नचाहेको प्रष्ट छ ।”

उहाँले ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी नै वैधानिक भएको दावी गर्नुभयो । उहाँले पूर्व माओवादी समूहका नेताहरु ओली समूहमा लाग्नुलाई स्वभाविक रुपमा हेर्नुपर्ने भन्दै आफूहरुलाई माओवादी ‘लिगेसी’ छाडे भन्नुले कुनै अर्थ नराख्ने बताउनुभयो । “प्रचण्डको पछि माधव, झलनाथ लागेपछि हामीहरु ओली पक्षमा लाग्दा ‘लिगेसी’ भन्दै कराउनुको अर्थ छैन” उहाँले भन्नुभयो ।

मन्त्री रायमाझी ओलीले नेतृत्व गरेको पार्टी अबको निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापित हुने भन्दै निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । उहाँले आफू अघिल्लो पटक उर्जा मन्त्री हुँदा बनेको ९९ वुँदे कार्ययोजनाका कारण लोडसेडिङको अन्त्य संभव भएको भन्दै मन्त्रालयले अघि सारेका नयाँ योजनाहरु छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले ओली सरकारले जनयुद्धका सहिद, घाइते तथा वेपत्ता पारिएका परिवारको पिडामा मलमपट्टी लगाउन खोजेपछि निकै राम्रो सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले घाइतेको निशुल्क उपचार देखि सहिद परिवार र वेपत्ता पारिएका परिवारलाई सम्मान गर्ने, रोजगारी सिर्जना गर्दै प्याकेजमा कार्यक्रम ल्याउने गरि मन्त्रीपरिषद्बाट निर्णय भएको जानकारी दिनुभयो । नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सांसद चन्द्रबहादुर खडकाले प्रचण्ड माधव नेपालका कारण देशमा अस्थिरता सिर्जना भएको बताउनुभयो । उहाँले प्रचण्ड संसदीय व्यवस्थाको असफल नेता भएको टिप्पणी गर्दै प्रचण्डले जयुद्धको भावनालाई कदर गर्न नसकेको बताउनुभयो ।

उहाँले केपि ओलीका समृद्धिका सपना र विकासका योजनाका कारण नेकपा दुई तिहाइ वहुमतको नजिक पुगेपनि ओलीको अस्तित्वलाई स्वीकार गर्न नसक्दा पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो । “ओली जिले समृद्धि र विकासको नारालाई व्यवहारमा उतार्न थालेपछि प्रचण्ड–माधवलाई शैय हुन सकेन” उहाँले भन्नुभयो, “त्यसपछि कसरी असफल बनाउने र सरकार ढाल्ने भन्नेमा उहाँहरु केन्द्रीत हुनुभयो ।” उहाँले प्रचण्डले पार्टीलाई नातावाद र कृपावादमा रुपान्त्रित गरेकै कारण तत्कालिन माओवादी पार्टी कमजोर बन्न पुगेको भन्दै पार्टीमा योग्य व्यक्तिहरुलाई प्रचण्डले सधै तिरस्कृत गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु बोमबहादुर विक, भोजबहादुर शाह, लुम्बिनी प्रदेश सम्पर्क कमिटीका सदस्य थानेश्वर बस्याल, डा ढुण्डी भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । भेलाले विशाल मिश्रलाई संयोजक र दुर्गा खनालाई सहसंयोजक तोक्दै १ सय २१ सदस्यीय कमिटी निर्माण गरेको छ ।