काठमाडौं, माघ १८ । खानेपानी मन्त्री मणि थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा गल्ती भएको भन्दै आम जनसमुदायसमक्ष क्षमा माग्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री थापाले भुलवस ती शब्द प्रयोग भएको भन्दै माफी माग्नुभएको हो ।
‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु,’ मन्त्री थापाले भन्नुभएको छ ।
शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभएको थियो,, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट… ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु।’
मन्त्री थापाले तत्कालै सच्याएको भएपनि सामाजिक सञ्जालमा उहाँको सो भनाईप्रति आपत्ति जनाइएको थियो भने कतिपयले सच्याएको कुरा एडिट गरेर दुश्प्रचार गरेका थिए ।













प्रतिक्रिया दिनुहोस्