जनता टाइम्स

२१ माघ २०७७, बुधबार ०८:३४

ओलीको समर्थनमा आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्‍याली गर्दै युवा संघ र अखिल (रुटसहित)


काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नुभएको कदमबारे जनतालाई स्पष्ट पार्न नेकपा बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले आज उपत्यकामा संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्ने भएका छन ।

युवा नेता महेश बस्नेतले नेतृत्व गर्नुहुने र्‍याली १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने आयोजकको भनाई छ । र्‍यालीका लागि रूट पनि निर्धारण गरिएको छ । मध्यान्ह १२ बजे ललितपुरको बालकुमारीबाट शुरु हुने र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुनेछ।

पछिल्लो समय पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल समुहले जनतामा अफवाह फैलाउन थालेपछि नेकपाले माघ २३ गते नारायणहिटी दरवार संग्राहलय अगाडि बिशाल जनसभाको आयोजना गरेको छ । जनसभामा कम्तीमा २ लाख जनताको सहभागिता गराइने नेकपा बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताउनु भएको छ । सोही सभाको तयारी स्वरुप आज मोटरसाइकल र्याली आयोजना गरिएको हो ।