जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार १९:५६

रविलाई गगनको जवाफ : ‘रास्वपामा कांग्रेसको ठूलो लगानी छ, साथीहरूलाई राम्रा कुरा सिकाएर पठाएका छौँ’


काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्तमान संरचनामा कांग्रेसको ठूलो योगदान रहेको टिप्पणी गर्नुभएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपामा रहेका कतिपय नेता तथा सांसद विगतमा कांग्रेसका कार्यक्रममा सहभागी भएर राजनीतिक प्रशिक्षण लिएका व्यक्तिहरू भएको बताउनुभयो।

उहाँले रास्वपामा ४० देखि ५० जनासम्म व्यक्ति कांग्रेसबाट राजनीतिक प्रशिक्षण लिएर गएको दाबी गर्नुभयो।

‘संसद्भित्र हेर्नुभयो भने पनि थुप्रै साथीहरू हिजो कांग्रेसकै मञ्चमा प्रशिक्षित भएर आज त्यहाँ पुग्नुभएको छ। रास्वपाको नेतृत्वदेखि तलसम्म पनि हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर हुर्किएका र हामीले राजनीतिक संस्कार सिकाएर पठाएका थुप्रै साथीहरू हुनुहुन्छ,’ उहाँले भन्नुभयो।

थापाले आफूहरूले ती व्यक्तिहरूलाई राम्रा कुरा सिकाएर पठाएको बताउँदै रास्वपाको उदयप्रति कांग्रेसलाई कुनै गुनासो नरहेको उल्लेख गर्नुभयो।

यसअघि रास्वपा सभापति रवि लामिछानेले गत निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताको मतसमेत पाएर आफ्नो पार्टी अहिलेको अवस्थामा पुगेको बताउनुभएको थियो। उहाँको उक्त भनाइप्रति जवाफ दिँदै थापाले कांग्रेसबाट रास्वपामा गएका नेता तथा कार्यकर्ताको पृष्ठभूमिबारे टिप्पणी गर्नुभएको हो।