काठमाडौं, पुस २१ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई वर्ल्ड बुक अफ रेकर्डले विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित समारोहमा मन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारीता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक न्याय राज्यमन्त्री आठवलेले मन्त्री मानन्धरले कायम गरेको विश्व कीर्तिमान राजनीतिकर्मीका लागि प्रेरणादायी अठोट भएको बताउनुभयो । नेपाली र भारतीयबीच अधिकांश विषयमा समानता रहेको बताउँदै मन्त्री आठवलेले समृद्धिको यात्रामा पनि सँगसँगै हिड्न चाहेको बताउनुभयो ।
भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि महत्वपुर्ण सफलता प्राप्त गरेको बताउँदै मन्त्री आठवलेले नेपाल सरकारसँग पनि आवश्यक सहकार्य हुने बताउनुभयो । दुई छिमेकी मुलुकबीचको आपसी सम्बन्ध र सहकार्य अझै बढाउन मोदी सरकार तयार रहेको बताउँदै नेपाल सरकारले तय गरेको समृद्धीको यात्रामा भारतको सधैं साथ रहने मन्त्री आठवलेले बताउनुभयो । सायरीसहित प्रस्तुत भएका मन्त्री आठवलेले मन्त्री मानन्धरको आवाजको आफु पनि प्रसंशक भएको बताउनुभयो ।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणीक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्ने बताउनुभयो । विकासमा भारतीय साझेदारी महत्वपुर्ण रहेको बताउँदै मन्त्री मानन्धरले दुई देशबीचको आगामी यात्रा थप उज्ज्व हुने विश्वास व्यक्त गर्नुभयो ।

आफुले कायम गरेको विश्व कीर्तिमान भारतीय राजनीतिक व्यक्तित्व र कलाकारहरुसँग पनि सेयर गर्न पाएकोमा गौरवान्वीत भएको बताउँदै मन्त्री मानन्धरले संगीतको सीमा नहुने बताउनुभयो । मन्त्री मानन्धरले नेपाल र भारतबीच कला, साहित्य र संगीतमा समानता रहेको बताउँदै संगीतको सम्वर्द्धनमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री मानन्धरले लगातार गत पुस १० गते ४ घन्टा ५ मिनेट २० सेकेन्डसम्म गीत गाएर वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड बनाउनुभएको थियो ।
भारत भ्रमणमा रहनुभएका मन्त्री मानन्धरसँग आज दिउँसो दिल्ली अध्ययन केन्द्रले अन्तरक्रियाको आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्