जनता टाइम्स

२१ माघ २०७७, बुधबार १९:१३

अखिल संयोजक ऐन महरको घोषणा : जनसभामा आउनेलाई अवरोध भए ठाउँको ठाउँ प्रतिकार



काठमाडौं, माघ २१ । अनेरास्ववियूका संयोजक ऐन महरले पुष्पकमल दाहाल, प्चण्ड र माधव नेपाल (पुमा) समुहले आयोजना गरेको नेपाल बन्दको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । आफ्नो माउ पार्टी नेकपा बागमतिले माघ २३ गते काठमाडौंमा आयोजना गरेको जनसभा र त्यसमाा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले प्रचण्ड–माधव नेपाल पक्षले आम हड्ताल घोषणा गरेको भन्दै ठाउँका ठाउँ प्रतिकार गर्ने चेतावनी दिनुभएको हो ।

प्रचण्ड र माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले माघ २३ गते आयोजना गरेको जनसभामा अत्यधिक जनता सहभागी हुने संकेत देखिएपछि आउन नदिन नेपाल बन्दको घोषणा गरेको छ । अखिलका संयोजक महरले जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत जारी राखिए त्यसको प्रतिवाद हुने बताउनु भयो । महरले २३ गतेको जनसभामा सहभागी हुन आउनेलाई कहिँ कतै अवरोध भए सैह्य नहुने र ठाउँको ठाउँ प्रतिकार गर्ने घोषणा पनि गर्नुभयो ।

‘हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु । २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गर्ने जानकारी गराउन चाहन्छु,’ संयोजक महरेले भन्नुभयो, ‘जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु । साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आआफ्नो जिल्लामा काठमाडौंको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु ।’

ओली नेतृत्वको नेकपाको जनसभामा मानिस आउन नदिने पुमा समुहले बन्दको आयोजना गरेपछि महरले सवै जिल्लाका अखिलका नेता कार्यकर्तालाई काठमाडौं आउने जनताको सुरक्षार्थ खटिन निर्देशन दिनुभएको हो ।