जनता टाइम्स

२१ माघ २०७७, बुधबार १९:३८

प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको प्रश्न : जनताले के बिगारे र, नेपाल बन्द गरेको ?


काठमाडौं, माघ २१

जनतालाई सास्ती दिन गरेको नेपालको बन्दको चौतर्फी आलोचना भईरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताले के बिगार गरेर नेपाल बन्द गरेको भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीको जनसभाबाट डराएको प्रचण्ड–नेपाल समुहले विहिवार आकस्मिक बन्द गरेपछि प्रधानमन्त्रीले जनतालाई दुःख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको समुहले बन्द आव्हान गरेको बताउनु भयो ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित राष्ट्रिय भेलामा बुधबार बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न सुझाव दिनुभयो । ‘नेपाल बन्द अरे । जनताले के बिगारे र, नेपाल बन्द गरेको ? जनतालाई किन दुःख दिनुपर्‍यो नेपाल बन्द गरेर ? पार्टी छोडेर आफू पाटीमा लाग्छन् अनि बन्द गरेर जनतालाई दुःख दिन्छन्, बन्द भनेको के ? त्यो किन गर्नुपर्‍यो, के का लागि गर्नुपर्‍यो ?’, उहाले प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिनका लागि बन्द गरिएको भन्दै आक्रोश पोख्नुभयो । ‘बन्द के का लागि गर्नु, किन बन्द गर्नु ? बन्द भनेको हिँड्डुल गर्न नपाइने, पसल खोल्न नपाइने भनेको हो, किन्न जान नपाउने, पढ्न जान नपाउने, जनतालाई दुःख दिने काम गर्नु भएन’, उहाले भन्नुभयो, ‘के का लागि गर्नुपर्यो बन्द ? जनताले बन्द गरेको होइन र जनताले चाहेको पनि होइन ।’